छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ बाट

२ भदौ, काठमाडौँ । कृषकलाई आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको कृषि यान्त्रिकरण प्रदर्शनीको छैठौंँ संस्करण मंसिर १२ गतेबाट शुरु हुने भएको छ ।
“कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि” भन्ने मूल उद्घोषका साथ तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने आयोजक संस्थाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका उत्पादक र बिक्रेताको सहभागिता रहने प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, पोस्ट–हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउबिजनसमेत राखिने जनाइएको छ ।
झण्डै २० मुलुकका दुई सय बढी स्टलमार्फत् दुई हजार भन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र र प्रविधि राखिने प्रदर्शनीको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था मिलाएको आयोजक संस्थाले जनाएको छ ।
संस्थाले यस अघिका चितवनमा तीन कोहलपुर, धरान, काठमाडौँ पोखरालगायतका क्षेत्रमा राष्ट्रिय तथा प्रार्देशिक यान्त्रिकरण र एग्रीटेक प्रदर्शनीसमेत सम्पन्न गरिरहेको छ ।