हम्काइलो भाका संरक्षण गर्नुपर्नेमा जोड

२ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ ।
महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौ ९ र १० गते बाटुलेचौर मैदानमा उक्त मेला हुने भएको छ ।
मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मूल समितिका संयोजक राजकुमारी बानियाँले दुई दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मूल समिति र आठ उपसमिति निरन्तर लागिरहेको जानकारी दिइन् ।
पत्रकार सम्मेलनका पत्रकार एवं विभिन्न समितिका पदाधिकारी र सरोकारवालाले तीजको परम्परागत हम्काइलो भाकालाई संरक्षण गरी नयाँ पुस्तालाई जानकारी गराउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै सञ्चालन हुँदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको स्पष्ट पारे ।
उनले थपे– ‘वडा कार्यालय मेलाको संरक्षक भएकाले समन्वय गरेको हो । वडा भित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रर्वद्धनका लागि स्थानीय सरकारको सदैव सहयोग रहने छ ।’
विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक रामबहादुर बानियाँले आर्थिक कारणले मेला छोटो भए पनि सफलतापूर्वक सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको बताए ।
अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताए । प्रचारप्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासी कै भएको भन्दै यसलाई सफल बनाउने दायित्व पनि पोखरेली कै भएको दावी गरे ।
मेलामा पहिलो दिन भदौ ९ गते बिहान मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी, महिला दौड, दिउँसो अन्तर विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता हुने छ । यसैगरी, भदौ १० गते समूहगत तीज गीत प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम हुने सो अवसरमा जानकारी गराइयो । सांस्कृतिक कार्यक्रममा करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिइन् ।
प्रचारप्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मूल समितिका सदस्य भीमबहादुर गायकले गरेका थिए ।