अब २० देखि ३५ वर्षकाले शुक्रकीट वा अण्डा दान गर्न पाउने

१ भदौ, पोखरा । नि:सन्तान उपचार सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:सन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित् क्षेत्रका सरोकारवाला विज्ञसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो ।
यो मापदण्ड स्वीकृत भएसँगै नेपालमा पहिलोपटक निसन्तान उपचार आईभीएफ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान प्रक्रिया थप व्यवस्थित हुने जनाइएको छ ।
मापदण्डले निसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन लागि काम गर्ने मन्त्रालयले जनाएको छ ।
मापदण्ड बमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ र तोकिएको मापदण्ड पालना नगर्ने जो सुकैलाई कानुनी दायरामा ल्याइने जनाइएको छ ।
मापदण्डमा आईयुआई र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने र प्रत्येक अनुमति प्राप्त केन्द्रमा निसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्टर एनेस्थेसियोलोजिष्टलगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको छ ।
पूर्वाधारतर्फ, राष्ट्रिय भवन संहिता बमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्षलगायतको व्यवस्था हुनुपर्ने मापदण्ड रहेको छ ।
सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निशुल्क उपलब्ध गराउनुपर्नेछ ।
शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागिसमेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्नेर विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरी जस्ता विषयलाई अनिवार्य गरिएको र दाताको पहिचान पूर्ण गोप्य राख्नुपर्ने मापदण्ड रहेको छ ।