MONDAY OCT 13, 2025

शुक्लाको राष्ट्रिय कृष्णभजन प्रतियोगितामा बडहरबोट भजन समूह प्रथम

१ भदौ, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरबोट भजन समूह प्रथम भई नगद एक लाख नगद पुरस्कार हात पार्न सफल भएको छ ।

शुक्ला साहित्य प्रतिष्ठानले कृष्णजन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगितामा तनहुँ शुक्ला गण्डकीको महेश्वर खनाल भजन समूह द्वितीय, हेम्जाको मातृकेश्वर भजन समूह तृतीय, भद्रकाली खैंजडी भजन समूह र धर्मस्थली भजन समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

उनीहरूले क्रमशः नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, २५ हजार र प्रमाणपत्र प्रदान प्राप्त गरेको र सहभागी टिमलाई जनही नगद पाँच हजार र प्रमाणपत्रसहित प्रोत्साहन गरिएको प्रचारप्रसार संयोजक सञ्जय थापाले जानकारी दिए।

तनहुँ, स्याङ्जा, धादिङलगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरला लामिछाने सरू र प्रेमराज अधिकारीले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले पोखरा प्राकृतिक, सांस्कृतिक र कलाले भरिपूर्ण शहर भएको बताउँदै, कला, साहित्य र संस्कृतिको कुनै सीमा नहुने बताए। मन्त्री थापाले यस किसिमका कार्यका लागि प्रदेश सरकार र आफ्नो मन्त्रालय जहिले पनि सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाँले प्रतिष्ठानले हालसम्म गरेका कार्य र उद्देश्यका बारेमा जानकारी गराउँदै, साहित्य, कला र संस्कृति बुझेको व्यक्तिले मात्र नेपाली वाङ्मयको मर्म बुझ्न सक्ने बताए ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले नेपाली कला, संस्कृति र साहित्यको विकासका लागि संस्थाले स्थापनाकालदेखि अहोरात्र खटेको जानकारी गराइन् ।

कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, संस्कृतिविद् डा जगमान गुरुङ, प्रदेश सभाका पूर्व सदस्य प्रभा कोइराला, एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, गण्डकी प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति सुर्य खड्का बिखर्चीलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गीता भट्टराई भण्डारी र सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए ।

Facebook Comments