आइएमएस सफ्टवेयरका उत्पादन अब विश्वबजारमा

३० साउन पोखरा । नेपाली आइटी कम्पनी आइएमएस सफ्टवेयरका उत्पादन अब विश्व बजारमासमेत विस्तार हुने भएका छन् ।
आइएमएस पस (IMS POS) सफ्टवेयर, आइएमएस रेस्टुरेन्ट सफ्टवेयर, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट, आइएमएस पेट्रोल पम्प म्यानेजमेन्ट, आइएमएस पार्किङ म्यानेजमेन्टलगायतका विभिन्न सफ्टवेयर उत्पादन अब बेलायतमा उपलब्ध हुने भएका हुन् ।
जसका लागि आइएमएस सफ्टवेयर र जेनेस सोलुसन बीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । आइएमएसले निर्माण गरेका सफ्टवेयर बेलायती बजारमा विस्तार गर्ने जिम्मा जेनेसले लिएको छ ।
सम्झौता–पत्रमा आइएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र जेनेस सोलुसनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले हस्ताक्षर गरेका छन् ।
साझेदारीले नेपाली सफ्टवेयर उत्पादन नयाँ बजारमा बिस्तार गर्दै व्यवसायलाई प्रतिस्पर्धी तथा सफल बनाउन आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने लक्ष्य लिएको आइएमएसले जनाएको छ ।
दुई दशकभन्दा बढीको अनुभवसहित आईएमएसले आइएमएस सफ्टवेयर खुद्रा व्यापार, रेस्टुरेन्ट, व्यापारिक फर्म तथा सेवा क्षेत्रको व्यवसाय व्यवस्थापनका लागि विभिन्न सोलुसन्स निर्माण गर्ने नेपाली सफ्टवेयर कम्पनी हो ।
जेनेज सोलुसन बेलायतमा आधारित सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । यसले क्लाउड सेवा, इन्टरप्राइज टेक्नोलोजी परामर्श र सफ्टवेयर प्रयोगसहितका विभिन्न आइटी सोलुसन्स प्रदान गर्दै आएको छ ।