राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा १६ टिम भिँड्दै

२९ साउन, पोखरा। पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
श्री कृष्णजन्माष्टमीका दिन साउन ३१ गते शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्ने प्रतियोगितामा दर्ता समयभित्र १६ वटा टिम दर्ता भएको जनाइएको छ ।
जसमा महेश्वर खनाल भजन समूह तनहुँ, भद्रकाली खैंजडी भजन समूह धादिङ, हरिहर भजन कीर्तन समूह स्याङ्जासहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका विद्यार्थीको टोली पनि सहभागी हुने बताइएको छ ।
बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि प्रतिष्ठानले बुधवार गोलाप्रथाबाट टाइसिटसमेत सार्वजनिक गरेको प्रचारप्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
प्रतियोगितालाई व्यवस्थित गर्न गठित २३ वटा उपसमितिले तयारी पूरा गरेको र केही आन्तरिक काम मात्रै बाँकी रहेको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेल बताउँछन् ।
प्रतियोगितामा यस क्षेत्रका आमा समूह, टोल विकास संस्था र विभिन्न जातीय तथा धार्मिक संस्थाले आ– आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख र प्रमाणपत्र, दोस्रो हुनेले नगद ७५ हजार र प्रमाणपत्र, तेस्रो हुनेले नगद ५० हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही पाँचहजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन् । प्रतियोगिता सफल बनाउन कास्कीका चारवटै स्थानीय तहसँग समन्वय गरिएको उपाध्यक्ष दीपेन्द्र बानियाँले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने बताइएको छ । निरन्तर कृष्ण जन्माष्टमी पर्व विशेष रूपमा मनाइने भएकाले यस क्षेत्रलाई गोकुल धामका रूपमा विकास गरिनुपर्नेमासमेत स्थानीयले जोड दिँदै आएका छन् ।