विन्ध्यवासिनी माविमा बानियाँ र भट्टराईको बिदाई

२९ साउन, पोखरा । पोखरा–१६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई एक समारोहका बीच बिदाई गरेको छ ।
अध्यापन कार्यमा करिब ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश प्राप्त गरेका हुन् । मंगलबार विद्यालयले एक कार्यक्रमका बीच दुवै शिक्षकलाई बाजागाजासहित सम्मान र विदाई गरेको हो ।
कार्यक्रममा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले समाजलाई सुसंस्कृत र सभ्य बनाउन गुरुहरूले निर्वाह गरको भूमिका अहम् रहने चर्चा गरे ।
उनले बाटुलेचौर क्षेत्र शिक्षाको उद्गम थलो भएकाले अवकाशपछिको जीवन पनि शिक्षा क्षेत्रमा लगाउन आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उहाँहरूको योगदान अतुलनीय रहेको स्मरण गरे ।
शिक्षक बानियाँले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण पेशाबाट अवकाश पाए पनि बाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए ।
शिक्षक भट्टराईले आफ्नातर्फबाट विद्यालयलाई सदैव सहयोग रहने बताउँदै आधारभूत तहमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको प्रोत्साहनका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापनासमेत गरिन् ।
कोषबाट प्राप्त ब्याजले उत्कृष्ट एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए ।