पोखरामा कवि क्षेत्रीको सम्बोधन
अग्रज साहित्यकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्रीले पोखरेली स्रष्टा साधकलाई कविताका माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिद्वारा आयोजित एल.बी.को एकल कवितावाचन कार्यक्रमलाई सम्बोधन नाम दिइएको महासचिव असफल गौतमले जानकारी दिए । प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील क्षेत्री २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथ साथै क्याम्पस प्रमुख भएर शैक्षिक सेवा पु¥याएका थिए ।
यही पुस ९ गते दिनको ३ः३० बजे दी भिलेज रेष्टुरेण्ट चिप्लेढुङ्गामा हुने एकल कविता वाचनमा उनले आफ्ना दर्जन रोज्जा कविता सुनाउने भएका छन् ।
वाङ्मयिक अध्ययन, अनुसन्धान र साहित्यिक संगठनमा क्रियाशील क्षेत्री अनेसासका केन्द्रीय सल्लाहकार हुन् । डेढ दर्जन राष्ट्रको अध्ययन अवलोकन भ्रमण गरिसकेका क्षेत्री कविडाँडा साहित्य समाजका अध्यक्षसमेत हुन् । कथा र कविता लेखनमा क्रियाशील क्षेत्रीका आधा दर्जन कृति र दर्जनौं फुटकर लेख रचना प्रकाशित छन् ।