पञ्चकोशीका महिलाहरु बोल्ने कला सिक्दै
पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि उद्घोषण, नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १० को आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको सोमबार वडा महिला सदस्य निशा मल्ल ठकुरीले उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले महिलाहरुले आफ्नो अधिकारका लागि आवाज उठाउन बोल्न सक्नुपर्ने बताउनुभयो । उनले निर्धक्क भई बोल्न नसक्नाले धेरै अवसरहरुबाट महिलाहरु बञ्चित हुनुपर्ने अवस्था नहोस् भन्नका लागि यस्ता तालिम आवस्यक पर्ने बताउनुभयो ।
यहि जेठ १४ गतेसम्म चल्ने तालिममा पत्रकार जीवन सुवेदी सहजकर्ता रहेका छन् । उनले बोल्ने कला तालिमले शब्द चयन गरी छरितोसँग बोल्न र डर मुक्त रहन सहयोग गर्नेे बताए । तालिम संयोजक एवं समाजका सहसचिव गान्धी कुमारी गुरुङले समाजमा हरेक ठाउँमा बोल्दा आमा समूहका सदस्यलाई परेको अप्ठेरो कम गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । तालिममा समाजमा आवद्ध करिब ४५ जना महिलाहरु सहभागि छन् ।
समाजका अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव मेखबहादुर गुरुङले गरेका थिए ।