३ जनाको ज्यान गयो, ६३ जनाविरुद्ध मुद्दा चल्यो तर भेटिएन ३३ किलो सुन

काठमाडौं । ३३ किलो सुन प्रकरणमा जोडिएका ३ जनाको ज्यान गयो । ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो तर पनि माघ ९ गते नेपाल भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्नै सकेन ।
सनम शाक्यको हत्यापछि यो सबै कुरा बाहिर सार्वजनिक भएको थियो । सनम शाक्यको हत्या करेन्ट लगाएर र कुटपिटबाट भएको खुलेको छ । हराएको सुन उनीहरुले नै लुकाएको आशंकामा तराइको जंगलमा पिकनिक खाने निहुँमा लगेर करेन्ट लगाइएको खुलेको छ ।
शाक्यसँगै मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पनि त्यसैगरी करेन्ट लगाइएको थियो ।
रुखमा बाँधेर करेन्ट लगाउँदा गाउँलेहरुले देखेपछि गाडीभित्र राखेर करेन्ट लगाएको प्रहरीसमक्ष बयान दिएका छन् ।
शाक्यलाई करेन्ट लगाउने टेकराज मल्लले प्रहरीलाई दिएको बयानमा शाक्यले हराएको सुन कहाँ छ भनेर नभनेसम्म मरे पनि करेन्ट लगाइरहन चुडामणि उप्रेती गोरेले निर्देशन दिएको बताएका छन् ।
सनमको धड्कन रोकिएपछि अन्य दुईजनालाई करेन्ट लगाउन छाडिएको बयानमा उल्लेख छ ।
“हामीहरुले कुट्दै मुखको बुजो निकाल्दै सोधपुछ गर्दा पनि नबताए पछि पुनः पहिले जस्तै तरिकाले कुटपिट गर्न थालियो,” उनले बयानमा भनेका छन्, “सोही क्रममा खोला तिर मान्छेको चहल पहल बढ्न थाले पछि गोरे भन्ने चुडामणी उप्रेतीले यहाँ मान्छेले थाहा पाउँछन् यिनीहरुलाई गाडीमा राखी करेन्ट लगा भनेपछि निजले बताए बमोजिम तिनै जनालाई बाँधेको रूखबाट खोली सनम शाक्य र मोहन काफ्लेलाई मैले र सुरेन्द्र गौतमले करेन्ट लगाउन थाल्यौँ भने कृष्ण भन्ने नरेन्द्र कार्कीलाई लाक्पा शेर्पा र टुक बहादुर मगरले टाटा हाईलेक्स गाडीमा लगी सबै तिरको झ्याल ढोका बन्द गरी गाडीको म्युजिक खोली आवाज बढाई मुखमा बुजो कोची करेन्ट लगाउन थालियो । करेन्ट लगाउने क्रममा मैले र सुरेन्द्र गौतमले करेन्ट लगाएका मोहन काफ्ले र सनम शाक्यमध्ये सनम शाक्य बेहोस भएपछि बेहोस भएको कुरा गोरे भन्ने चुडामणी उप्रेतीलाई जानकारी गराउँदा जबसम्म भन्दैन तबसम्म मरे मरोस् करेन्ट लगाई राख भन्यो र म पुनः गाडीभित्र पसी बेहोस अवस्थामा रहेका सनम शाक्यलाई करेन्ट लगाउन थालेँ । त्यसरी करेन्ट लगाउदै जाँदा केहि बेरमा सनम शाक्यको सासको धडकन बन्द भयो ।”
त्यसपछि यसलाई मर्न त दिनु हुँदैन भनी हतार हतार राजन भन्ने ड्राइभरलाई बजारतर्फ ग्लुकोज लिन आफूले नै पठाएको उनले बयानमा उल्लेख गरेका छन् ।
सनम शाक्यको मृत्यु भएपछि उनको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको उनको बयानमा उल्लेख छ । “सनम शाक्यको मृत्यु भएपछि अरूलाई पनि करेन्ट लगाउन छाडियो र उक्त लाशलाई के कसरी ठेगान लागाउने भनी सल्लाह हँुदा कसैले कोशीमा, कसैले त्रिसुलीमा फालीदिनुपर्छ र कसैले काल्पनिक एक्सिडेन्ट जस्तो देखिनेगरी बनाई छाडी दिनुपर्छ भने तर गोरे भन्ने चुडामणी उप्रेतीले जंगलमानै खाल्डो खनी पुरी दिनुपर्छ भनेपछि गोरे भन्ने चुडामणी उप्रेतीले लाक्पा शेर्पा र टुक बहादुर मगरलाई खाल्डो खन्न लगायो । र, सोहि बेलामा होटलमा रहेका कृष्ण बस्नेतलाई गोरे भन्ने चुडामणी उप्रेतीले फोन गरी तक्लेलाई काठमाडाँै पठाई दिनू भनीसकेको थियो । खाल्डो केहि खनेपछि उसले के कता फोन सम्पर्क गरी खाल्डो खन्न छोड्दे भन्यो त्यसपछि सबै जना केहीबेर घटनास्थलमानै बसी करिब बेलुकीको ४ बजे तिर सनम शाक्यको लाश माथि तौलिया राखी बिरामी भएको जस्तो देखाई उक्त गाडीमा म, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा चढ्यौ भने अरू साथीहरू अन्य गाडीमा चढी हामी धरानस्थित निर्भाना कन्ट्री क्लबमा पुग्यौँ । त्यहा पुगेपछि कोही बियर खान थाले कोही गफ गरेर बस्न थाले, सो बेलामा सबै भेला हँुदा पनि माधब घिमिरे भन्ने ब्यक्ति के कता गए थाहा भएन ।”
अर्का थाइ एयरका कर्मचारी सानु बनको पनि यही कारणले मृत्यु भएको छ ।
धेरैजसो बयानमा ३३ किलो सुन हराएपछि उनलाई यातना खप्न नसकेर ट्याङकरको चक्कामुनी परेर आत्महत्या गरेको अनुमान छ ।
सानु बनको छोरा पविन बनको बयानमा भनिएको छ–बुबाको मृत्यु साथीहरुसँग कारोबारको कुरा नमिलेको कारणले भएको हो । सनम शाक्यको हत्याको बारेमा थाहा छैन भन्ने । उहाँलाई थाई एयरवेजका कर्मचारीले फसाएको हुन सक्छ ।”
त्यसैगरी ४० वर्षदेखि थाई एयरवेजमा कार्यरत गोपाल कुमार श्रेष्ठले पनि बनको मृत्यु यातना सहन नसकेर भन्ने बयान दिएका छन् ।
त्यसैगरी पक्राउ परेका प्रेमलाल चौधरीले पनि प्रहरी हिरासतमै आत्महत्या गरेका थिए ।
कहाँ गयो त ३३ किलो सुन ?
विमानस्थलबाट बाहिरिएको सुन अनामनगरमा लुटिएको बयान दिनेहरुले उल्लेख गरेका छन् ।
तर कसले लुटेको भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।
विमानस्थलमा कार्यरत वीरेन्द्रमान श्रेष्ठले बयानमा भनेका छन्– त्यसपछि गोपाल कुमार श्रेष्ठले के कसरी काम मिलाए पछि पुनः सुन ल्याउने कार्य शुरू भयो । यस्तै क्रममा मिति २०७४।१०।०७ गते म घर बिदा बसि काममा आँउदा फेरि सुन तस्करीको काम शुरू भएछ । मिति २०७४।१०।०९ गते (जनवरी २३, २०१८) पनि १२ (बाह्र) पिस सुन आउँदै छ भन्ने जानकारी भई पहिले जस्तै गरी निकालेको सुन उक्त दिन साँझ ग्यारेजबाट तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ र सानु बनले निकाली अन्दाजी १९ः१५ समयमा पु¥याउन जाँदै गर्दा मोटरसाईकमा आएका ८÷१० जना केटाहरुको समुहले सानु बनको मोटरसाईकल सहित लुटेर लग्यो भन्ने कुरा थाहा पाए । त्यसको ३ (तीन) दिन पछाडि गोरे भन्ने चुडामणी उप्रेतीका केटाहरूले हामीलाई बिभिन्न ठाउँमा बोलाएर सुन हराएको बिषयमा सोधी खोजी गर्न थाल्यो ।”
अर्का तक्ले भन्ने पुण्यप्रसाद लामाले आफ्नो बयानमा भनेका छन्–
सन २०१८ जनवरी २३ तारिखको दिन बिहान म अफिस पुग्दा थाई एयरलाईन्सबाट आज फेरि सुन आउदैछ भन्ने कुरा गोपाल कुमार श्रेष्ठ र सानु बन सर मार्फत मैले थाहा पाए । सबैलाई तयारी हुनु भन्नु भयो । दिउसो १२÷१ बजे थाई एयरको टीजी ३१९ को बिमान ल्याण्ड भएपछि पहिले जस्तै गरी सुन भर्याङसम्म आईपुग्यो र झिके पछि १२ पिस सुन रहेको कुरा मलाई पनि थाहा भयो । साझ अं.५ः०० बजे पछि सानु बनले सरले मलाई सुन पु¥याउन जानु पर्छ भनेपछि सुन लुकाएको ज्याकेट मैले लगाएँ र सानु बन सर र म छुट्टा छुट्टै मोटरसाईकलमा सानु बन सरको घरमा पुगी ज्याकेटबाट सुन निकाली सानु बन सरको मोटरसाईकलको तेलको ट्यांकीमा सुनको पिसहरू लुकाई सुन पुर्याउन अनामनगर आ–आफ्नो मोटरसाईकलमा गयाँै । अनामनगरमा हामीले सुन दिनको लागि मोटरसाईकल छिराउने सटर अगाडि २ वटा जति मोटरसाईकल र ३÷४ जना मानिसहरू भेला भएको देखेपछि सानु बन सर अगाडि अगाडि र म पछिपछि मोटरसाईकल चलाई उक्त सटर क्रस गरेर अगाडि गयौ । केहि अगाडि पुगेपछि सानु बन सरले मोटरसाइकल रोके पछि म निजलाई क्रस गरेर १० ÷ १५ मिटर अगाडि गई मोटरसाईकल रोकी मैले निजको मोबाइल नं.९८४१५२२३१५ मा मेरो मोबाइल नं.९८४९९९९११८ बाट फोन गरी किन के भयो ? किन मोटरसाईकल रोक्नु भएको भनी सोध्दा यहा खतरा छ जस्तो छ तिमी यहाँ बाट गई हाल भने पछि म मोटरसाईकलमा चलाई झन्डै ५०० मिटर जति अगाडि एउटा चौकमा पुगेपछि के गर्ने भनेर अन्यौल भए पछि मोटरसाईकल रोकी पुनः सानु बन सरलाई फोन गरे फोन लागेन । सोहि समयमा भित्रको गल्लीबाट एउटा स्कुटीमा सानु बन सर पछाडि बसी आई मैले मोटरसाईकल रोकेको ठाउबाट क्रस गरेर देब्रे मोडी पुरानो बानेश्वर तिर गए पछि मैले फेरि सानु बन सरलाई फोन सम्पर्क गर्ने प्रयास गरे फोन लागेन । मैले मोटरसाईकलबाट पिछा गर्ने प्रयास गरे तर मेरो मोटरसाईकल स्टार्ट गरी अगाडि बढेर हेर्दा कुन गल्ली बाट कता तिर छिरे मलाई थाहा भएन । त्यस पछि सम्बिर प्रसाद तोलाङलाई फोन गरेर सानु सरको फोन लागेन सानु बन सर एक जना मान्छेको स्कुटीमा बसेर जानु भएको छ, के भएको बुझ भनेर भने र म अफिस जादै गर्दा सानु बन सरले फोन गरेर मलाई तिमी कहाँ हो भनेर सोध्नुभयो, मैले सिनामंगल पुलमा छु भन्दा त्यसो भए अफिस तिर जाऊ भनेर फोन राखी हाल्नु भयो । म अफिसको सिनांगलको पट्टि गेटमा पुग्ने बेलामा सानु बन सरले फेरि फोन गरेर तिमी अफिसमा छिर भित्र सेभ हुन्छ भनेर भन्नु भयो । म ७ः३० बजेको समयमा अफिसमा पुग्दा गोपाल कुमार श्रेष्ठ सरले मलाई सानु बनले भनेको सुन त लुटियो रे त ? बाटोमा के–के भयो भनेर सोध्नुभयो । मैले बाटोमा भएको कुरा सुनाए, अनि म आफ्नो काममा लागे ।”