पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट
यही असोज २४ गते पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन् ।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताका विषयमा पोखराका पर्यटन व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलका सहभागीहरूले विपद्को विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटिभीए, एगा पोखरा, ओटेफ गण्डकी, मुद्रा सटही संघ, टेवान गण्डकीलगायत पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
छलफलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले खेलकुद इभेन्टले पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए । पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष जोडिएको प्रतियोगितालाई पोखराको वार्षिक पर्यटन क्यालेन्डरमै समावेश गर्नुपर्नेमा जोड दिँदै उनले धेरै संख्यामा धावकलाई सहभागी गराउन आग्रह गर्दै प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतसमेत व्यक्त गरे ।
नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले पर्वतीय दौडमा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउन सके पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताइन् ।
रेवान पोखराका अध्यक्ष बसन्त गौतमले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उल्लेख गर्दै प्रतियोगिताको व्यवस्थापनमा स्वच्छता, सरसफाइ तथा विदेशी पर्यटकको सुविधालाई प्राथमिकतामा राख्न सुझाव दिए ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले संघले विगतदेखि नै विभिन्न खेलकुद तथा पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगितामा पनि आवश्यक सहयोग गर्ने बताए । उनले थपे ‘बाढीपहिरोजस्ता विपद्का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन हामीहरू साथमा छौ ।’
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै आगामी वर्षदेखि प्रतियोगिताको मिति पहिल्यै निर्धारण गरी छुट्टै क्यालेन्डरमा समावेश गर्न सुझाव दिए ।
उनले प्रतियोगितालाई पोखराको लेकसाइड वा ड्यामसाइडबाट सुरु गरी पुम्दी–भुम्दी क्षेत्रसम्म जोड्न सकिने धारणासमेत राखे ।
एनटिभीएका अध्यक्ष रविप्रसाद आचार्यले देश बाढीपहिरोको पीडामा रहेका बेला अधिकांश राजमार्गसमेत प्रभावित भएको अवस्थामा प्रतियोगितालाई निरन्तरता दिन खोज्नु सकारात्मक भएको बताए ।
परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराईले पुम्दी–भुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई जोडेर आयोजना हुने दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताए । उनले प्रतियोगिताका आकर्षक दृश्य समेटिएका रील्स तथा ड्रोन भिडियो निर्माण गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट व्यापक प्रचारप्रसार गर्न आयोजकलाई सुझाव दिए ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले पर्वतीय दौड तीनवटा महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई एउटै दौडमार्फत जोडेकाले प्रतियोगिता अन्य सामान्य प्रतियोगिताभन्दा फरक प्रकृतिको र आफ्नै विशिष्ट महत्व रहेको बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले देशको विषम परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिन लागेकोमा आयोजकलाई धन्यवाद दिँदै निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गरे ।
छलफलमा पीटिसीका महासचिव मिलन तिवारी, पर्यटनविद् दीपेन्द्र पहारी, एगा पोखराका अध्यक्ष गीता ढकाल पौडेल, ओटेफ गण्डकीका अध्यक्ष ममता न्यौपाने, मुद्रा सटही संघका अध्यक्ष दीपकराज मिश्र, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डेललगायतले प्रतियोगितालाई सफल बनाउन आवश्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भई विशाल महादेवको मूत्र्ति (पुम्दीकोट), पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुने आठ किलोमिटरको प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय गरी ६ विधामा धावकहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स तथा मेडिकल पार्टनरमा नेलम्बो नेपाल रहेका छन् । पोखरा टेलिभिजन प्रतियोगिताको अफिसियल टेलिभिजनका रूपमा जोडिएका आयोजक संस्थाले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमति र पोखरा–२२ को समन्वयमा हुन लागेको हो प्रतियोगितालाई परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको संयोजक बरालले जानकारी गराए ।
छलफलमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
