SUNDAY SEP 20, 2026

माछापुच्छ्रे भित्रका कृतिकार स्रष्टा सम्मानित

माछापुच्छ्रे गाउँपालिका भित्रका साहित्यिक कृति प्रकाशित गरेका स्रष्टा सम्मानित भएका छन् । माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले यसरी पालिकाभित्रका सम्पूर्ण स्रष्टाको सम्मान गरेको हो ।

स्रष्टा साधक भाषासाहित्यका सेवक भएको भन्दै बाजागाजासहितको विशिष्ट सत्कारसहित सम्मान अर्पण गरिएको हो । यसरी सम्मानित हुने साहित्यकारमा खिमलाल गौतम, छविलाल आचार्य, टेकनाथ पीडित, विजय अधिकारी, भानु अविरल, रघुनाथ शर्मा, लक्ष्मण गौतम हिमाली, लोचना अधिकारी, विनोदमोहन आचार्य, शशी अधिकारी, सूर्य गिरी र श्रीकृष्ण पौडेल रहेका छन् ।

समारोहको समुद्घाटन गर्दै आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक एवम् स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संस्थाले बत्ती मुनिको अँध्यारो लोकोक्तिलाई निस्तेज पार्दै उज्यालो छरेको बताए ।

उनले थपे ‘हरेक व्यक्ति आफ्नै क्षेत्रमा ओझेलमा पर्दै आएका बेलामा माछापुच्छ्रे परोपकारी संस्थाले हरेक क्षेत्रमा पुर्याएको सामाजिक योगदानको अनुशरण अन्य संघसंस्थासमेतले गर्नुपर्छ ।’
सोही समारोहबीच पालिकाभित्रका दुई घर परिवारलाई संस्थाको पहलमा सङ्कलन भएको दुई लाख ६० हजार नगद आर्थिक सहयोगसमेत हस्तान्तरण गरियो ।

समारोहबीच बोनम्यारो पीडित केल्भिन सुनारको सहयोगार्थ सङ्कलन भएको एकलाख ३८ हजार नौसय ७० रूपैयाँको चेक केल्भिनका परिवारलाई हस्तान्तरण गरियो । यस्तै पालिकाभित्र रहेर आर्थिक विपन्नताले च्यापिएको दिलबहादुर मगरको परिवारलाई एकलाख २१ हजार सातसय सहयोग हस्तान्तरण गरियो ।

उक्त सहयोग रकम माछापुच्छ्रे परोपकारी मञ्च तथा मञ्चका वैदेशिक रोगजार मञ्चका शुभेच्छुकको पहलमा स्वेच्छिक सङ्कलन गरिएको छ । कार्यक्रमको संयोजन मञ्चका सदस्य कृष्णप्रसाद बास्तोला र मुख्य व्यवस्थापन संस्थाको वैदेशिक रोजगार टिमका संयोजक राजु क्षत्री अपुरोले गरेको सो अवसरमा जानकारी गराइयो ।

सम्मानित स्रष्टामध्येबाट बोल्दै साहित्यकार छविलाल आचार्यले आफूँ सिर्जना साहित्य सदनको सल्लाहकार हुँदा राजु क्षत्री अपुरोलाई चिनेको स्मरण गर्दै परदेशमा बसेर पनि आफ्नो भूमिमा अपुरोले गरेको योगदान सुनौला अक्षरले लेखिएको बताए ।

साहित्यकार लोचना अधिकारीले लामो समय शिक्षण पेशामा रहेर अवकाश प्राप्त जीवनमा साहित्य साधनामा लागेर आफ्नै क्षेत्रमा सम्मानित हुन पाउँदा निकै गौरवको अनुभूति रहेको धारणा राखिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले माछापुच्छ्रे परोपकारी संस्थाले गाउँपालिकामा संस्था स्थापनादेखि हालसम्म लाखौँको आर्थिक सहयोग, सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा आफ्ना सेवाका कर्मले साच्चै अर्को माछापुच्छ्रेका रूपमा संस्थाले आफ्नो नाम सुनौलो अक्षरले लेखाएको बताए ।

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत एसइइ उत्कृष्ट छात्र शिशिर अधिकारी र सम्झना सुनारलाई शैक्षिक सम्मान प्रदान गरियो उक्त सम्मानको सौजन्य समाजसेवी देवी तिवारी गरेकी थिइन् ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले प्रतिष्ठानले दास्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्न लागेको जानकारी गराउँदै सबैको सकारात्मक सुझाव, सहयोग तथा सहकार्यको अपेक्षा गरे ।

लाहाचोक साहित्य सदनका अध्यक्ष लिलाधर अधिकारीले संस्थाले पालिकाभित्रका कृतिकार स्रष्टालाई एउटै मञ्चमा ल्याएर उत्कृष्ट कार्यक्रम गरेको बताए ।

महेन्द्र मा.वि.का प्रधानाध्यापक तथा संस्थाका सदस्य मीनराज अधिकारीले माछापुच्छ्रे परोपकारी संस्था जहाँ पीडा त्यहाँ परोपकार भनेझैँ युवा उद्यम, समाजसेवा, राष्ट्रसेवा, महिला सशक्तिकरणलगायतका हरेक क्षेत्रमा प्रोत्साहन तथा डेढ दर्जन ज्यादा विपत्जन्य समस्या समाधान गरी उल्लेख्य आर्थिक सहयोग प्रदान गरिसकेको जानकारी गराए ।

गायिका सरस्वती अधिकारीको गायनले माहोललाई सांगीतिक रौनक थपेको समारोह बीच गायिका सरस्वती अधिकारी, सुरक्षा शाही कृष्टिना जिसीलाई सम्मान र सहयोगीलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा रोजित अधिकारी, रूपा अधिकारी, एकदत्त लम्साल, जयलाल पौडेल, अस्मिता नेपाली, भुवन पोखरेल, पदम नेपाललगायतले रचनावाचन गरेका थिए भने सुरक्षा शाही, कृष्टिना जिसी, सगुन परियार, सुष्मा सुनारले नृत्य प्रस्तुत गरेका थिए ।

उपस्थित दर्शकले देव स्याङ्बो र सरस्वती अधिकारीको प्रत्यक्ष दोहोरीसमेत श्रवण गरेका थिए । संस्थाका अध्यक्ष पदमबहादुर जिसी तथा सचिव सुशील श्रेष्ठले कार्यक्रम सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

Facebook Comments