हेमजा साहित्य प्रतिष्ठानको २८ औं स्थापना दिवसमा सम्मान
हेमजा साहित्य प्रतिष्ठान नेपालले साउन ८ गते आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । संस्थाले राष्ट्रिय पुरस्कार, शुभप्रभात बालसाहित्य पुरस्कार अर्पण तथा २७२ औं शुभप्रभात काव्यमालासहित स्थापना दिवस मनाएको हो ।
प्रतिष्ठानद्वारा स्थापित हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट पहिलो पटक बिम्बकवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि नगद २१ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।
सोही समारोह बीच शुभप्रभात बालसाहित्य पुरस्कार गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरियो उक्त पुरस्कार पाठशालाका संरक्षक समरबहादुर गायकसहित पाठशालाका भाइबहिनीले ग्रहण गरे । कोष संस्थापकमध्येका एक असफल गौतमले पाठशालाका भाइबहिनीलाई अक्षयकोषको व्याज रकमबाट बहुउपयोगी स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले श्रेष्ठ र गायकलाई सम्मान अर्पण गरे ।
प्रमुख अतिथि न्यौपानेले विम्ब नचाउने कवि श्रेष्ठको कर्म ऊर्जामय रहेको बताए । उनले सारङ्गी जोगाउने गन्धर्वको योगदानलाई जीवन्त राख्न प्रतिष्ठानका तर्फबाट सक्दो प्रयास गर्ने धारणा राख्दै प्रतिष्ठान सबैको प्रतिनिधित्व हुने यात्रामा अगाडि बढेको धारण राखे ।
सम्मानित प्रतिभा रमेश श्रेष्ठले प्रतिष्ठान र छनौट समितिप्रति कृतज्ञता व्यक्त गर्दै कहिलेकाहीँ आँखा नपुग्दा उज्यालो पनि अन्धकार हुने भएकाले आफू त्यो उज्यालोको खोजीमा लागिरहेको बताए ।

समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसदस्य कमल पौडेल अथक, पोखरेली युवा साँस्कृतिक परिवारका कार्यवहाक अध्यक्ष लक्ष्मण थापा, सिर्जना साहित्य सदनका अध्यक्ष शिव पोखरेल, शुक्ला साहित्य प्रतिष्ठानकी अध्यक्ष दुर्गा बस्नेत गौतम, गन्धर्व पाठशालाका संरक्षक सम्मरबहादुर गायक, प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्याय, निवर्तमान अध्यक्ष बलराम पौडेललगायतले बोलेका थिए ।
समारोहमा भरतचन्द्र गौतम, धर्मराज पौडेल अल्पायु, आवाज शर्मा, इ नारायण बास्तोला, चन्द्रावती वाग्ले, पाठशालाका भाइबहिनीलगायतले आफ्नो प्रस्तुति राखेका थिए । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सोमनाथ गौतम आक्रान्तले गरेका थिए भने प्रतिष्ठानका विशिष्ट संरक्षक कृष्णप्रसाद पौडेलले सम्मानित संस्था र प्रतिभाको परिचय राखेका थिए ।
प्रतिष्ठानले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमसहित स्थापना दिवस मूल समारोह मनाउँदै आएको छ । यस अघि प्रतिष्ठानका संस्थापक जनार्दनशरण त्रिपाठीको जन्मजयन्ती समारोह तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
