महेन्द्र मा.वि. घार्मीको ३६ औं अभिभावक दिवस
पोखरा-१९, घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले सामुदायिक विद्यालयमा नै आफ्ना बालबच्चा भर्न गरेर सहयोग गर्नसमेत आग्रह गरे । वडाध्यक्ष पाण्डेले विद्यालयको चौतर्फी विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै गुणस्तरीय शिक्षा र विद्यार्थी आकर्षणका योजना पेश गर्न सुझाव दिए।
पूर्व वडाध्यक्ष शोभा मोहन पौडेलले शिक्षामा गुणस्तर बढाउन शैक्षिक क्रियाकलाप मात्र नभई जीवनोपयोगी अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने धारणा राखे ।
सोही समारोहबीच वर्ष उत्कृष्ट शिक्षकबाट भेषबहादुर भुजेल, उत्कृष्ट अभिभावक गंगा सुनार र सिङ्गराज तामाङ सम्मानित भए भने गत शैक्षिक सत्रमा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक, खेलकुद र अतिरिक्त क्रियाकलापको पुरस्कार प्रदान गरिनुका साथै छात्रवृत्तिसमेत वितरण गरियो ।
विद्यालयद्वारा स्थापित अक्षयकोषमा रामचन्द्र सुनार, तोकमाया पौडेल, बासुदेव पौडेल, सरस्वती भण्डारी, भीमबहादुर सुनार, पण्डित ऋषिराम पौडेल र तुलसी पौडेलले आर्थिक सहयोग हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रधानाध्यापक बासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मनबहादुर सुनार, पण्डित ऋषिराम पौडेल, सरस्वती भण्डारी, शिक्षक रत्नाकुमारी विश्वकर्मा, विद्यार्थी सुदीप पौडेललगायतले विद्यालयका आफ्ना धारणा राखेका थिए ।
निमित्त प्रधानाध्यापक नन्दराज दाहालले वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा लेखा सहायक रमेश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक शरदराज सापकोटाले गरेका थिए ।
