THURSDAY APR 30, 2026

गण्डकीको चिया ‘उत्कृष्ट’: बागलुङको गोल्डेन टी इस्टेटका दुई उत्पादन प्रथम

 ३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित टि टेस्टिङ प्रतियोगितामा गण्डकी प्रदेशको चियाले उत्कृष्टता हासिल गरेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को आयोजनामा भएको प्रतियोगितामा बागलुङको गोल्डेन टि इस्टेट प्रा. लि. का दुई चिया उत्पादनले प्रथम स्थान हात पारेका हुन्।

चार क्याटागोरीमा भएको प्रतिस्पर्धामध्ये ग्रिनिस अर्थोडक्सगोल्डेन टी क्याटागोरीमा उक्त इस्टेटका चिया उत्कृष्ट घोषित भए। प्रतियोगितामा देशभरका ४५ उद्योगका १२० नमुनाको अर्गानोलेप्टिक परीक्षण गरिएको थियो।

भारतका वरिष्ठ टि टेस्टर कौषिक भट्टाचार्य र डेभिड जोनसनसहित नेपाली प्राविधिक टोलीले चियाको गुणस्तर मूल्यांकन गरेका थिए। परीक्षणमा चियाको सुख्खा अवस्था, बासना, पानीमा डुबाएपछिको रूप र स्वादलाई आधार मानिएको थियो।

समुद्री सतहबाट २२०० देखि २४०० मिटर उचाइमा उत्पादन भएको चिया गुणस्तरमा अब्बल देखिएको हो।

वि.सं. २०७२ मा स्थापना भएको गोल्डेन टि इस्टेटले यसै सिजनदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीका अनुसार गण्डकीको चिया उत्कृष्ट हुनुले थप उत्साह र जिम्मेवारी बढेको छ।

इस्टेटका अध्यक्ष सरोज दाहालले चुनौतीका बाबजुद गुणस्तरीय चिया उत्पादन गर्न सफल भएको बताउँदै आगामी दिनमा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्राविधिकहरूका अनुसार उच्च उचाइमा उत्पादन हुने चिया कम मात्रामा फल्ने भए पनि गुणस्तरमा उत्कृष्ट हुने गर्छ। गण्डकी प्रदेशमा बागलुङसँगै कास्की र लमजुङमा पनि व्यावसायिक चिया खेती विस्तार भइरहेको छ।

Facebook Comments