THURSDAY APR 30, 2026

लेउवा संघमा रोजगारीका अवसरबारे अन्तरक्रिया

लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरका लागि रोजगारदाता र पूर्वसिकाइको मान्यता विषयमा ग्राजुएट बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

औपचारिक शिक्षा हासिल नगरे तापनि कार्य अनुभवका कारण सीप र दक्षता भएकालाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सीप भएर पनि रोजगारीका क्षेत्रमा राज्यका सेवासुविधाबाट बञ्चित भइरहेका व्यक्तिहरूका लागि कार्यक्रम फलदायी हुने बताउँदै यसबाट उद्योगी व्यवसायीसमेत लाभान्वित हुने बताएकी थिइन् ।

सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तोयानाथ लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नीतिगत व्यवस्था, सीप परीक्षणका लागि तीन तहका सरकारले गर्न सक्ने काम र प्रदेशमा पूर्व सिकाइका मान्यताको आधारमा सीप परीक्षणका अवस्थाका विषयमा प्रस्तुति राखेका थिए ।

प्रदेशमा यसरी सीप परीक्षण गरेर दक्षताको प्रमाणपत्र लिनेमा आ.व. २०७९÷०८० मा १ सय ३३ जना, आ.व. २०८०÷०८१ म १ सय ९४ जना र आ.व. २०८१÷०८२ मा ३ सय ४९ जना रहेको जानकारी गराए ।
नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकीका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्र्दभिकताको विषयमा र पोखरा महानगरपालिका व्यवसाय प्रर्बद्धन केन्द्रका नवराज अधिकारीले सीप परीक्षा उत्र्तीण व्यक्ति र रोजगारदाताका लागि अवसर विषयमा प्रशिक्षण दिएका थिए ।

संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समय सापेक्ष एवं महत्त्वपूर्ण रहेको बताउँदै यसले राज्य, नीजि क्षेत्र र स्वयम् सीप र दक्षता भएर पनि अवसर पाउन सकेका व्यक्तिहरुका पनि लाभदायक हुने बताएका थिए ।
संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिम सञ्चालन गनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य वीरेन्द्रराज भुर्तेलले गरेका थिए ।

Facebook Comments