THURSDAY MAR 05, 2026

लुम्लेमा कविता पार्क निर्माण द्रूत गतिमा अगाडि बढ्दै

१७ भदौ, पोखरा । अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा कविता गाउँ लुम्ले समितिद्वारा अगाडि बढाइएको कविता पार्कको निर्माण प्रक्रिया द्रूत गतिमा अगाडि बढेको समितिका अध्यक्ष भरत देवकोटाले जानकारी दिए ।

२०८२ भाद्र १८ गतेका दिन अन्नपूर्ण गाउँपालिका प्रमुख विष्णुबहादुर केसीले शिलान्यास गरेको पार्कमा  स्थापना गरिएको कवि/गीतकार विनोद गौचनको अर्धकदको प्रतिमा उनको स्मृति दिवसका दिन यही पौष २० गते अनावरण गर्ने कार्यक्रम रहेको अध्यक्ष देवकोटा बताउँछन् ।

पार्कलाई कम्पाउण्डवाल, गेट निर्माण, निर्माणसमितिको शिलालेखलगायतका काम पूरा भइसकेका र अन्य निर्माण कार्य बजेट अभावका कारण अगाडि बढाउन नसकिएको पार्क निर्माण उप-समिति संयोजक चिनबहादुर केसी बताउँछन् । उनी समितिले शून्य बजेटमा पालिकाले इन्जिनियरिङ्ग लागत अनुसार २६ लाख २४ हजार ९४५ रुपैयाँ ३१ पैसाको परियोजना अगाडि बढाउन सफल भएकोमा भने खुसी व्यक्त गर्दछन् ।

अर्थ संकलन समितिका संयोजक विश्वमोहन गौचनले कविता पार्क निर्माणका लागि विनोदका आफन्त, परिवारजन, शुभेच्छुक, शुभचिन्तक र विभिन्न दाताको सद्भावले हालसम्म १० लाख बढीको काम भइसकेको बताए ।

अन्नपूर्ण गाउँपालिकाकै लागि थप एउटा पर्यटकीय गन्तव्य कविता पार्क बन्दै गरेको र पालिका प्रमुखबाट आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता भएकाले अब बाँकी कामले पूर्णता पाउनेमा विश्वस्त रहेको गौचन बताउँछन् ।

कविता पार्कको प्रवेशमार्गमा अन्नपूर्ण वडा कार्यालय ६ बाट विनियोजित एकलाख बजेटमा बाटो निर्माण कार्य अगाडि बढिरहेको वडाध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । उनले कविता पार्कसम्मको बाटो मर्मतका लागि वडाले हरेक वर्ष बजेट विनियोजना गरी निर्माण कार्यलाई पूर्णता दिने बताउँछन् ।

समाजसेवी चिनबहादुर के.सी.द्वारा दान प्राप्त चार आना दुई पैसा एक दाम जग्गामा हाल कविता गाउँका प्रणेता विनोद गौचनको अर्धकदको शालिक स्थापना गरिसकिए तापनि अन्य निर्माणका काम बाँकी रहेको समितिका सचिव सुवास गुरुङले जानकारी दिए ।

कविता गाउँ लुम्ले समितिले अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढाएको समितिका कोषाध्यक्ष बाबुराम देवकोटा बताउँछन् । समितिका दीर्घकालीन योजना अन्तर्गत सामुदायिक वाचनालय, पुस्तकालय, बहुउद्दश्यीय सभाहल निर्माण रहेका छन् ।

समाजसेवी रामजीप्रसाद देवकोटा परिवारद्वारा दान घोषणा भएको आठ आना जग्गा समितिलाई प्राप्ति भएपछि अन्नपूर्ण गौरवका अन्य योजनालाई अगाडि बढाउँदै पार्कलाई ग्रामीण पर्यटन प्रवद्वर्धन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य समितिले लिएको छ ।

कविता पार्क निर्माणसँगै पार्क अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटक तथा कवि कलाकारको आगमन बढाई लुम्लेमा घरवास कार्यक्रम सञ्चालन गरी कम्तिमा एक रात बास बस्ने वातावरण सिर्जना गराउने लक्ष्य समितिले राखेको सल्लाहकार असफल गौतम बताउँछन् ।

समयको कालक्रममा लुम्ले ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्रमा दिवा सेवा केन्द्र, ध्यान केन्द्र, योग केन्द्र, ज्येष्ठ नागरिक पुनर्मिलन केन्द्रका रूपमा अगाडि बढ्ने, प्रवद्र्धन केन्द्र हातामा सुविधा सम्पन्न चमेना गृह सञ्चालन गरी स्थानीय अग्र्यानिक उत्पादनको स्थानीय रूपमै खपत तथा सङ्कलन गरी रोजगारीका मार्ग प्रसस्त गर्ने दीर्घकालीन कार्ययोजना समितिले बनाएको उनी बताउँछन् ।

Facebook Comments