लेखनाथ पुस्तकालय चन्द्रगढीद्वारा संचालित कविशिरोमणि लेखनाथ पुरस्कार वियोगीलाई
४ पौष, पोखरा । छन्दनायक माधव वियोगीलाई २०८२ सालको कविशिरोमणि लेखनाथ पुरस्कार प्रदान गरिने भएको छ ।
लेखनाथ पुस्तकालय चन्द्रगढी झापाद्वारा संचालित सो पुरस्कार छन्दनायक वियोगीले लामो समयदेखि छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानमा सङ्लग्न भई छन्द र महाकाव्यको पुनर्जागृतिमा उल्लेख्य योगदान पुर्याएकाले प्रदान गर्न लागिएको पुस्तकालयका सचिव हरिकिशोर आचार्यले दिए । लेखनाथ पुस्तकालयको कार्यसमितिको हालै बसेको बैठकले सो निर्णय गरेको हो ।
हरेक वर्ष एकजना विशिष्ट साधकलाई राष्ट्रियस्तरमा प्रदान गरिने सो पुरस्कार यस अघि मोक्ष खतिवडा झापा,भवानी खतिवडा काठमाण्डौ र भावना खनाल पाल्पाले पाएको र पुरस्कारको राशि ४१ हजार रहेको जानकारी पुस्तकालयमा आबध्द प्रा। होम सुवेदीले दिएका छन् ।
छन्ददिवसका प्रणेतासमेत् रहेका पुरस्कृत व्यक्तित्व छन्दनायक वियोगी जनप्रिय बहुमुखी क्याम्पस पोखराका पूर्व प्रमुख हुन् भने विभिन्न शैक्षिक संस्थाहरूमा संलग्न हुँदै हाल उनी सेवानिवृत्त भैसकेका छन् ।
छन्द विश्वविद्यालय स्थापनाका लागि कसरत गरिरहेका उनका १० महाकाव्य, ८ खण्डकाव्य, २ कवितासङ्ग्रह, गीत, गजल, मुक्तक, निबन्ध, उपन्यास, कथा, समालोचनालगायतका ४२ कृति प्रकाशित छन् ।
सो पुरस्कार यही पौष २६ गते पुस्तकालयको स्थापना दिवस एवम् लेखनाथ जयन्तीको विशेष कार्यक्रममा उनलाई प्रदान गरिने प्राप्त समाचारमा जनाइएको छ ।
