MONDAY OCT 13, 2025

बाटुलेचौरमा दुई दिने तीज मेलाको तयारी

२१ साउन, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला आयोजना हुने भएको छ ।

वडा कार्यालय पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिइन् ।

परापूर्वकालदेखि बाटुलेचौरमा हुँदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि दुई दिनसम्म मेला सञ्चालन गर्न लागिएको बानियाँले बताइन् ।

मेला सञ्चालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सह–संयोजक रहेको मूल समितिसहित विभिन्न आठ उपसमिति गठन गरिएको छ ।

जसअनुसार, आर्थिक व्यवस्थापनमा अनिल बस्नेत, प्रचारप्रसार उपसमितिमा मोहन थापा, स्वास्थ्यमा दुर्गा केसी थापा, लोक नृत्य व्यवस्थापनमा रामबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा गुरूदत्त भट्टराई, महिला दौडमा नन्दा गुरुङ, खाजा व्यवस्थापनमा कमला तिमिल्सिना र तीज गीत तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन सचिवालयले गर्ने गरी संयोजक तोकिएको बताइएको छ ।

मेलाको पहिलो दिन भदौ ९ गते बिहान मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी, महिला दौड र विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता सञ्चालन हुने भएको छ । यसैगरी मेलाको दोस्रो दिन १० गते समूहगत तीज गीत एवं सांस्कृतिक कार्यक्रम गरिने प्रचारप्रसार संयोजक मोहन थापाले जानकारी दिए ।

भेलामा बोल्दै वडा सदस्य राजकुमारी बानियाँले तीज मेला बाटुलेचौरको परम्परासँग जोडिएको बताउँदै उक्त मेलालाई मौलिक र ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।

रामबहादुर बानियाँले तीज पर्व दुःख, सुख बिसाउने चौतारी भएकाले यसको मौलिक र सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए ।

स्मरण रहोस्, शाह वंशका राजा कुलमण्डन शाहका पालादेखि नै बाटुलेचौरमा लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलामलगायतका क्षेत्रका महिला दिदीबहिनी जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरू बताउँछन् ।

Facebook Comments