झारखोलाका अम्बिकाप्रसादको योगदान चार दशकपछि लिपिबद्ध

असफल गौतम/ वि.सं. १९८३ मा स्याङ्जा जिल्लाको झारखोलामा जन्मेर २०४० सालमा निधन भएका शिक्षा, समाज तथा राजनीतिसेवाका त्रिवेणी अम्बिकाप्रसाद पौडेलको योगदान भौतिक चोला सकिएको चार दशकपछि लिपिबद्ध भएको छ ।
तत्कालीन व्यवस्थामा राज्यसेवकलाई रिजाउने भन्दा जनप्रिय काम गरेर सबैको मन जितेका अम्बिकाको योगदानलाई प्रा.डा. यमबहादुर पौडेल क्षत्रीको अनुसन्धान तथा विश्लेषणले लिपिबद्ध गराएको हो ।
‘स्याङ्जाको पृष्ठभूमि र माननीय अम्बिकाप्रसादको योगदान’ शीर्षकमा ३०६ पृष्ठमा १० अध्यायमा संरचित कृतिमा उनका विविध आयामलाई लिपिबद्ध गरिएको छ ।
उक्त कृतिको लोकार्पण समारोह स्याङ्जाली सम्पर्क सदनको व्यानरमा शनिवार पोखरामा आयोजना गरिएको हो । समारोहका वक्ताले चिलाउनेवास गाउँ पञ्चायतका पहिलो अध्यक्ष अम्बिकाप्रसाद अञ्चलस्तरीय सदस्यबाटै दुई पटकसम्म राष्ट्रिय पञ्चायतको सदस्य भएर शिक्षा, स्वास्थ्य, विकास निर्माण र सनातन संस्कार संस्कृति संरक्षणमा जनप्रिय काम गरेर सबैका प्रिय बनेको धारणा राखे ।
कृति लोकार्पण गर्दै प्रमुख अतिथि संविधान सभाका सदस्य गणेशमान गुरुङले अम्बिकालाई आफ्ना दाजु गुरुकारूपमा स्मरण गरे । उनले आज गाउँ, गाउँ जस्तो नभएकोमा चिन्ता व्यक्त गर्दै अम्बिकाप्रसादले प्रयोग गरेका सामग्रीको संरक्षण गरेर ऊर्जाशील जीवनकाल बितेको भूमिलाई सङ्ग्रहालयका रूपमा संरक्षण गर्नसमेत सुझाव दिए ।
प्रमुख अतिथि गुरुङले अम्बिकाप्रसाद पौडेलले २००७ साल अगाडिदेखि, २०१५ साल, २०१७ सालको परिवर्तन हुँदै २०४० सालसम्म निरन्तर राजनीतिक, सामाजिक, शैक्षिकलगायतका विकासमुखी गतिविधिमा पु¥याएको योगदान लिपिबद्ध भएकोमा खुसी व्यक्त गर्दै त्यस क्षेत्रका अन्य विशिष्ट प्रतिभाको योगदानको खोजी आवश्यकता भएको बताए ।
गण्डकी प्रदेश सभा सदस्य तथा अम्बिकाका नाति सुधीरकुमार पौडेलले राजनीतिमा निडर, प्रष्टवक्ता र उदारवादी छबी बनाएका हजुरबुवाले स्याङ्जामा शैक्षिक क्रान्तिको नेतृत्वसँगै, आँधीखोला क्षेत्रका बासिन्दाको स्वास्थ्यलाई ख्याल गरेर स्वास्थ्य चौकी स्थापना र विकास निर्माणमा खेलेको महत्त्वपूर्ण भूमिकाको पदचाप पछ्याउँदै आफूले निरन्तरता दिन पाएकोमा सन्तोष व्यक्त गरे ।
संविधान सभा सदस्य शारदा पौडेलले अम्बिकाप्रसादलाई शिक्षा, स्वास्थ्य र यातायातलाई प्राथमिकतामा राखेर जनप्रिय काम गर्ने राष्ट्रसेवककारूपमा चित्रण गरिन् ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकलुपति दुर्गाबहादुर शाह बाबाले आफ्ना हजुरबाबा छिमबहादुर शाहले ९७ वर्षको उमेरसम्म पनि ब्रह्मा, विष्णु र महेश्वर जसरी आफ्नो जीवनका महत्त्वपूर्ण असल मान्छे भनेर अम्बिकाप्रसाद पौडेल र शोभाकान्त अर्यालसहितको तस्वीर सिरानीमा राखेको स्मरण गरे । वैदिक सनातन परम्पराका सेवक अम्बिकाले आफ्नो जीवनकालमै १०८ गाई नै दान गरेको सन्दर्भसमेत आफ्ना हजुरबुबाबाट जानकारी पाएको शाहले बताए ।
नेपाल सरकारका पूर्व उपसचिव तीलक पौडेल स्यार्कोटेले अम्बिकाप्रसादको योगदानको ४० वर्षपछि स्मरण भएकोमा खुसी व्यक्त गर्दै जनप्रदीप विद्यालय स्थापना नभएका भए आफूँ गाउँमै घाँसदाउरामा हराइरहेको हुने बताए ।
पुस्तकमाथि परिचर्चा गर्दै पृथ्वीनारायण क्याम्पस इतिहास विभागका विभागीय प्रमुख नारायण ढकालले अम्बिकाप्रसादको शैक्षिक, राजनीतिक र सामाजिक योगदानमा केन्द्रित अनुसन्धानात्मक ग्रन्थ प्रकाशित हुनु गौरवको विषय भएको बताए । उनले हिजोको विकटता अम्बिकाप्रसादका लागि विकास ल्याउन सहयोगी सिद्ध भएको दाबी गर्दै भने– ‘तत्कालीन समयमा भारतमा बसेर पढ्दा अम्बिकाप्रसादले देखे भोगेको अङ्ग्रेज सरकारको शासन व्यवस्थाबाटै पाठ सिकेर अम्बिकाले नेपाल आएर जनपक्षीय काम गरेकाले आजसम्म उनको स्मरण सबैको मानसपटलमा ताजै रहेको कृतिबाट प्रष्ट हुन्छ ।’
अनुसन्धानदाता प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले आफ्नो ऊर्जाशील जीवन शिक्षाक्षेत्रमै समर्पण भएकाले अम्बिकाप्रसादले २०१० सालदेखि नै स्याङ्जाको सतौं चारखुट्टेमा मातृभूमि प्राथमिक विद्यालय स्थापना गरेर शिक्षाको ज्योति जगाएको प्रेरणादायी कार्यले अनुसन्धानमा हुटहुटी थपेको बताए । उनले समाजको अनुभव हराउन नदिनका लागि इतिहासका जरा मेटाउने नभएर संरक्षण गर्न आवश्यक छ भनेर आफू अनुसन्धानमा लागेको बताए ।
कार्यक्रममा स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले वैदिक ज्योतिष विज्ञान अनुसार कुण्डली हेरेर समग्र भाग्यको रेखाचित्र निर्धारण भएजस्तै माथिल्लो आँधिखोला क्षेत्रमा भएको विकासबाटै अम्बिकाप्रसादको योगदान प्रस्ट भएको बताए । उनले स्याङ्जामा जन्मेर छरिएर रहेका बन्धुको एकता र यस्तै कार्यका लागि मञ्च आवश्यक देखेर स्थापना भई सेवामूलक गतिविधिमा सक्रिय रहेको जानकारी गराए ।
पौडेल वंश महासंघका अध्यक्ष हरिलाल शर्मा पौडेलले अम्बिकाप्रसादको पहलमा चिलाउनेवासमा स्थापना भएको जनप्रदीप स्कुल हाल क्याम्पसमा रूपान्तरण भएको स्मरण गर्दै उनले रोपेको चेतनाको बिजको देशका विभिन्न क्षेत्रका विशिष्ट श्रेणीमा पुगेर राष्ट्रसेवा, समाजसेवा गरिसकेकाले अम्बिकाप्रसाद सेवा क्षेत्रका त्रिवेणी थिए भने ।
पुस्तकका प्रकाशक नारायणप्रसाद पौडेलले पौडेलको व्यक्तित्वसँगै तत्कालीन सामाजिक परिवेशलाई उजागर गरेको बताए । उनले अम्बिकाप्रसादको नेतृत्व क्षमताको प्रशंसा गर्दै उनले आफू पनि सानै उमेरमा वेथितिका विरुद्ध भिडेको स्मरण गरे । उनले थपे– ‘विभिन्न चरणमा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिएका जिल्लाका अन्य व्यक्तिकोसमेत अभिलेख तयार गर्न ग्रन्थ उपयोगी हुने छ ।’
अम्बिकाकी नातिनी डा. रमा पौडेल सात सालको परिवर्तन अगाडिबाटै शिक्षाको ज्योति बाल्नका लागि समाजले खोजेको व्यक्तित्व अम्बिकाप्रसादको योगदानले हाम्रो वर्तमान पुस्तालाई जिम्मेबारीबोध गर्न प्रेरणा दिएको बताइन् ।
कृष्ण क्षत्री उदयले निडर र हक्की स्वभावका अम्बिकाको व्यक्तित्वका कारण तत्कालीन समयका प्रमुख जिल्ला र न्यायाधीशसमेत उनीसँग नरम व्यवहार गर्ने गरेको उनका समकक्षीबाट जानकारी पाएको बताए ।
सोही समारोहबीच पुस्तक प्रकाशनका क्रममा ऐतिहासिक तथ्य खोजमा टेवा पु¥याएको भन्दै कास्कीका ८६ वर्षीय तत्कालीन डोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमराज अधिकारी र फेदीखोला खहरेका ९६ वर्षीय हवलदार मानबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका अम्बिकाप्रसादका छोरा ई. राजेन्द्रप्रसाद पौडेलले पिता स्वर्गारोहणको चार दशकपछि योगदानलाई उजागर गर्ने गरी पुस्तक लेख्न र प्रकाशन गर्नमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।