MONDAY OCT 13, 2025

नेपाली वाङ्मयको संरक्षण हाम्रो दायित्व : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको कला, साहित्य, संगीत र लोकसंस्कृतिको संरक्षण गर्न हामी सबैको दायित्व रहेको बताएका छन् ।

पोखरा थियटरले आयोजना गरेको ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवद्र्धन एवं संरक्षण गर्नुपर्नेमा चासो व्यक्त गरेका हुन् ।

‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अली मियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइरालालगायतको भूमि गण्डक क्षेत्र हो ।’ उनले थपे– ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’

यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगततर्फबाट विभिन्न प्रयास भएको बताउँदै उनले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुसी व्यक्त गरे ।

कवि एवम् साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उनकै सम्मुख आयोजित कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गरे ।

पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत परिवर्तनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक पाँच विधाका सिर्जना वाचन तथा मञ्चन गरिएको हो ।

Facebook Comments