दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको मिति घोषणा "असोज ४ गतेको दौडलाई पुम्दी–भुम्दीकै उत्सवको रूपमा सफल पारौँ"

खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण यही असोज ४ गते आयोजना गरिने भएको छ ।
पोखरा क्लिक मिडिया हाउसद्वारा शुक्रवार आयोजित मिति घोषणा तथा प्रस्तावना सार्वजनिकसहितको छलफल समारोहमा उक्त जानकारी गराइएको हो ।
उक्त प्रतियोगितालाई पोखरा–२२, पुम्दीभुम्दीकै उत्सवका रूपमा अगाडि बढाउनु पर्ने सरोकारवालाको भनाइ रहेको छ ।
कार्यक्रमका सहभागी पोखरा २२ का २४ वटा टोल विकास संस्थाका प्रतिनिधि, युवा परिषद्का प्रतिनिधि, जनप्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं स्थानीयहरूले अघिल्लो वर्षका कमजोरी सुधार्दै उत्कृष्ट व्यवस्थापनमा जुट्न आग्रह गरे ।
छलफलका सहभागीले पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई खेलपर्यटनसँग जोडेर प्रचारप्रसार गरिने उक्त प्रतियोगितालाई भव्य रूपमा सम्पन्न आफ्ना क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दीभुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए ।
उनले पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउन पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्यका लागि गतवर्ष ९० लाख र यस वर्ष करिब ३ करोड बजेट विनियोजन भएको उल्लेख गरे ।
विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गाबहादुर गुरुङले प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा महोत्सवका रूपमा मनाउन सुझाव दिए । साथै उनले पुम्दीभुम्दीमा पर्यटकीय सम्भावना बोकेका तारेभिर, फिलिङ्गघारी, थाप्लेडाँडालगायतका क्षेत्रको पनि प्रवद्र्धन आवश्यक रहको धारणा राखे ।
पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बरालले प्रतियोगिता गाउँको पहिचानसँग जोडिएकाले सभ्य र भव्य बनाउन आफूहरूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष लाल गुरुङ (राज) ले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका धावक सहभागी भएको स्मरण गर्दै यो वर्ष थप मेडिकल टिमसहित स्वयंसेवकलाई पर्याप्त मात्रमा खटाउन सुझाव दिए ।
भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगिता अरू प्रतियोगिताहरू भन्दा प्रतियोगिता भएको बताए । उनले अन्नपूर्ण, माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौडले विश्वको ध्यानाकर्षण गराउन सफल हुनेमा विश्वास व्यक्त गरे ।
पर्यटन व्यवसायी एवं स्वतन्त्र पत्रकार राजु क्षत्रीले हाम्रो समुदायमा पर्यटकीय संस्कार कम भएकाले पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलाप बृहत् गुरुयोजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर २२ युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगितालाई सफल पार्न आवश्यक समन्वय गर्न परिषद् दिनरात नभनेर जाग्ने प्रतिबद्धता व्यक्त गरे ।
शुक्रराज मा.वि.का शिक्षक मिलन गुरुङले गतवर्षका कमजोरीलाई सुधार्दै थप आकर्षक व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रम संयोजक दिननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप विक, महेश्वरी मा.वि.का शिक्षक सञ्जय बराललगायतले विविध आयामबारे प्रकाश पारेका थिए ।
स्वतन्त्र पत्रकार असफल गौतमले आन्तरिक तथा बाह्य पर्यटक एकदिन आएगएर मात्र पर्यटन प्रवद्धन नहुने भएकाले पर्यटकलाई पुम्दीको चिनो लिएर जाने परम्पराको विकास गराउन पुम्दीबासी जुट्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ७ हजार पुरस्कार रहेको संस्थाले जनाएको छ । यसैगरी, पोखरा २२ वडास्तरीय खुलातर्फ विजेता एकजना, महिलातर्फ विजेता एक जना, १६ वर्ष मुनीसमूहका एकजना र ४० वर्षमाथि भेट्रान्स समूहका एक–एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने संयोजक बरालले जानकारी गराए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय, पोखरा महानगरपालिका वडा २२ को सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र सिटीवान टेलिभिजन मिडिया पार्टनरका रूपमा जोडिएको पनि सो अवसरमा जानकारी गराइयो ।
उक्त प्रतियोगितामा सहभागी धावकका लागि अनलाइन फारम दर्ता प्रक्रिया केही हप्तापछि खुला गरिने सो प्रतियोगिता सम्पन्न गर्न करिब आठ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए ।