तालघर सीमाङ्कनका पोल गाड्ने काम पूरा : मेयर धनराज आचार्य

पोखराको फेवाताल किनार सीमाङ्कन गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि गठित प्राविधिक उप–समितिले फेवाताल किनारमा एक हजार ५५ वटा पोल गाड्न सीमाङ्कन गरेको थियो । सोही बमोजिम पोल गाडेर सकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी गराएका छन् ।
महानगरले गत जेठ १७ गते फेवाताल किनारमा पोल गाड्ने कार्यको शुभारम्भ गरी आर्थिक वर्षभित्रै सक्ने दाबी गरेको थियो । सोही अनुसार फेवाताल संरक्षणका लागि पहिलो चरणमा भौतिक पोल गाड्ने, दोस्रो चरणमा ६५ मिटर भित्रका जग्गाको वर्गीकरण गरी जग्गाको मुआब्जा दिनुपर्ने, नपर्ने छुट्याइने जनाइएको छ ।
तेस्रो चरणमा मुआब्जा पाउने जग्गाका लागि मुआब्जा दर तोक्ने, मुआब्जा वितरण गर्ने र मुआब्जा प्राप्त जग्गा खाली गरिने मेयर आचार्यले सामाजिक सञ्जालका माध्यबाट जानकारी गराएका छन् ।
स्मरण रहोस् २०१८ सालमा फेवातालको क्षेत्रफल १० वर्गकिलोमिटर, २०३१ सालमा छ वर्गकिलोमिटर, २०५२ सालमा ४.४३ वर्गकिलोमिटर, २०५७ सालमा ४.२५ वर्गकिलोमिटर हुँदै २०६४ सालमा आएर ४.२ वर्ग किलोमिटरमा खुम्चिएको विभिन्न समयका तथ्यले देखाएको पाइन्छ ।