विशाल तिमी चुलिएका छौ

असफल गौतम
नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो भविष्य खोज्दै अगाडि बढेका विशाल रानाभाटको सांगीतिक यात्रा चुलिँदो क्रममा छ । जो स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समिति वडा नम्बर ५ लोलासरीमा जन्मेर भाटखोला आसपासका कुनाकन्दरामा हराइरहेका थिए ।
बुबा गोविन रानाभाट र आमा रमा रानाभाटका जेठा सन्तानका विशाल रानाभाटलाई यतिबेला इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स २ का कारण विश्व समुदाय माझ चिर परिचित छन् । जुन विशालको अन्तरनिहित प्रतिभा कला र गलासँग जोडिएको छ ।
खुलेको दैलो र सफलताको खुड्किलो
बृहत् आयामको यो सांगीतिक यात्रा विशाल रानाभाटका लागि बन्द घरको दैलो खुले जस्तो भएको छ । दुबई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, पोर्चुगल, बेलायत, अमेरिका, हङ्कङ, भारत, नेपालसहित झण्डै दर्जन देशका सहभागीबाट उत्कृष्ट १४ सम्म पुग्नु चानचुने कुरा थिएन । यसैले यो उनको सफलताको खुड्किलो हो ।
(गायनका क्रममा विशाल रानाभाट)
घरदेश र परदेशका दुःखसँग पैँठेजोरी खेल्दाखेल्दै सुर र साधनाविनाको उनको दौड समुन्द्रमा हाम फाले जस्तो नभएको होइन । तर उत्कृष्टताको श्रेणीमा उक्लेपछि पछिल्ला दुई महिनाको अवधिमा उनले जुन ज्ञान आर्जन गरेका छन् त्यो उनको सांगीतिक जीवनको सबैभन्दा ठूलो कमाइ हो । जसले आगामी दिनमा विशाललाई थप मार्गर्दशन गर्न सहयोग पु¥याउँछ ।
नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्य लिएको इन्ट्रा वेलफेयर अमेरिकाको यही प्रतियोगिता अन्तिम होइन । जुन आगामी दिनमा थप परिस्कृत र परिमार्जित हुँदै जाने संस्थाका अध्यक्ष तथा बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारीलगायतको टिम हेर्दा अनुमान गर्न सकिन्छ । यही प्रतियोगिता नभए पनि अन्य यस्ता धेरै प्रतियोगिता भइरहन्छन् । तिनमा विजयले बाजी मार्दै जाने छन् । यो उनको खडा गरेको धरातल हो ।
(उत्कृष्ट १४ प्रतिभासँगै विशाल रानाभाट)
धनले कुड्याएको मन
पछिल्लो समय साङ्गीतिक क्षेत्र प्रतिभा कम पैसा ज्यादा हुनेको कब्जामा जस्तो देखिन्छ । जसले धेरै टिकट बिकाउन सक्छ, जसले धेरै भोट गर्न सक्छ, जसको धेरै भ्यूज, शेयर, कमेन्ट आउँछ त्यसका आधारमा विजेता घोषणा गर्ने परम्परा पनि मौलाइरहेका छन् । जसबाट इन्ट्रा नेशनल वेलफेयरसमेत अछुतो रहन नसक्नु दुःखको कुरा हो ।
(विशालका लागि भोट अपिल गरिएको फ्लाएर)
कला र गलालाई पैसाले किनेको भोट बैंकसँग तुलना गरेर होइन उसको प्रस्तुतिमा केन्द्रित गर्नुपर्छ । आयोजकले तय गरेका मापदण्डका आधारमा खरिद गरिएका भोटले उपाधि विजेता बनेकाहरूबाट कला संस्कृतिको राम्रो विकास हुँदैन । कालान्तरमा ती प्रतिभा स्थापित होइन विस्तापित हुन बेर लाग्दैनन् । हिजोका कैयौँ उपाधि विजेता आज गुमनाम भएका तथ्य हाम्रै आँखा अगाडि छन् । भोट गर्दा–गर्दा मोवाइलको किबोर्ड नष्ट भएका, औला सुनिएका तथ्य र सत्यको साक्षी पंक्तिकार पनि रहेकाले यस्ता विषयमा बारम्बार खबरदारी गरिरहेको छ ।
आयोजकलाई भोट नगर्दा निर्णायकमा रहेको स्वार्थको द्वन्द्वले प्रतियोगितालाई नोक्सान गर्छ भन्ने लाग्न सक्छ । त्यो भ्रम अन्त्यका लागि टेलिकमको म्यासेज गर्दा लाग्ने न्यूनतम् शुल्कमा भोट गर्न पाउने व्यवस्थामा भोटिङ प्रक्रियालाई सहज र व्यवस्थित बनाइन आवश्यक छ । किनकि धनले मन कुड्याउने काम प्रतियोगिताका नाममा राम्रो होइन ।
चुकेको समुदाय र झुकेको शिर
भाटखोलाको जनप्रिय स्कुलबाट साँवा अक्षरदेखि एस.एल.सी. पूरा गरेका विद्यार्थीका लागि विद्यालय जाग्नुपर्ने थियो । उनी आबद्ध पोखरा लेकसाइडको गामवेँशी दोहोरी साँझ जाग्नुपर्ने थियो । सबैभन्दा बढी उनको समुदाय जुर्मुराउन आवश्यक थियो । पंक्तिकार गाउँबाट बजार झर्दा विजयकै जस्तो सपना बोकेर झरेको थियो । प्रतियोगिताको यस्तै प्रकृतिका कारण उत्कृष्ट पाँचबाट बाहिरिएसँगै दुई दशक अगाडिबाट फेरिएको बाटोबाट हेर्दा आजसम्म पनि त्यस्तै देख्दा दुःख लाग्छ । विशालले सांगीतिक क्षेत्रमा खनेको गोरेठो भने फेर्न पर्र्दैन तर समुदाय यसरी चुक्नु हुँदैनथ्यो यो विशालप्रतिको उपेक्षा भन्ने पंक्तिकारको ठम्याई छ ।
(विशालका लागि भोट गर्न सिकाउने उद्देश्यले स्याङ्जामा जुर्मुराएको युवा पुस्ता)
पंक्तिकारले स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटसँग विशाललाई हामीले जसरी पनि उत्कृष्ट १० सम्म पु¥याउनुपर्छ । त्यसका लागि के गर्न सकिन्छ भनेर छलफल गरेको थियो । समाज र साथीभाइले सहयोग गरेकाले उत्कृष्ट १० मा पुग्नेमा उनको आसय थियो । समुदाय यही चुक्यो । एक जुगमा एक पटक आएको एक दिन यहीँ अन्त्य हुँदा दाँतमा ढुङ्गा लागे जस्तो भइरहेछ ।
भाटखोलाको एउटा होनहार प्रतिभा करोडको सांगीतिक दौडमा होमिदा युवा पुस्ताका भाइबहिनीले सकेको प्रयास गरे तर त्यो अपूरो र अधुरो थियो । जातीय पहिचानका लागि संगठित रानाभाट तथा भाट समुदायका पदाधिकारी जुर्मुराउन आवश्यक थियो । नेतृत्वको निलज्जताले आज लाज पनि लजाइरहेको छ । अर्काले तयार गरिदिएका मञ्चमा आएर आफूलाई महान् देखाउन डुक्रने जुका र खुर प्रवृत्तिका समुदायका अग्रजहरुले बाटो बिराउँदा समुदायले ठूलो क्षती व्यहोरेको छ । जसको मारमा अहिले करोडको क्लबमा छिरेका विशालको दैलो बन्द भएर उनको यात्रामा ठेस लागेको छ । यसको जति भ्रत्सना गरे पनि कमै हुन्छ । सहयोगका नाममा दलाल बन्न पाए अगाडि सर्ने दरिद्र मानसिकताको नेतृत्वलाई भित्ता लगाउन विशाल जस्ता युवा जुर्मुराउनै पर्छ ।
अन्त्यमा
मेरो भ्वाइस युनिभर्सको उत्कृष्ट १० मा पर्न सफल नभएपछिको विशालको मन्तव्य सुनेँ । बाबाआमा सम्झ्यौ, श्रीमती, भाइ, भाञ्जा र शुभचिन्तकलाई सम्झ्यौ र भन्यौँ ‘सबैले स्याङ्जाको सारङ्गी भन्न थाल्नुभएको छ ।’ हो विशाल तिमीले कमाएको त्यही हो । तिमी साच्चै स्याङ्जाको सारङ्गी भएर विश्व परिचित हुन बाँकी छ । गीत संगीतका क्षेत्रमा सम्भावना हुँदाहुँदै तिमी चिप्लिएका होइनौ, थप सम्भावनाले चुलिएका छौ । साधनालाई थप बढाऊ । समाज यस्तै हो, सङ्घर्षको कथा धेरै भन्दा धेरै पढ् । समयले विजेताको ताज तिम्रै पोल्टामा ल्याई पु¥याउने छ ।
जन्मदिनको उत्तरोत्तर प्रगतिको शुभकामना !