भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चद्वारा लोकसर्जक नेपाली सम्मानित
लोकगीत तथा संगीतका सर्जक पूर्ण नेपाली पोखरामा सम्मानित भएका छन् । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले २७ औं वार्षिकोत्सव एवम् नवौं अधिवेशन समारोहका बीच नेपालीसहितका व्यक्तित्वलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा स्वास्थ्यतर्फ डाक्टर सुवास बस्नेत र शिक्षातर्फ प्रविनबाबु भट्टराई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विन्ध्यवासिनी माविका प्राचार्य कृष्णप्रसाद आचार्य र मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले सम्मान गरे ।
बाटुलेचौरमै जन्मिएर विन्ध्यवासिनी माविबाट शिक्षा आर्जन गरेका सम्मानित परियार पेसागत रूपमा सङ्गीतकार र नृत्य प्रशिक्षकका रूपमा सुपरिचित छन् । कलिलो तामालाई, सोह्र बर्से उमेरैमा, कसकी छोरी हौ तिमीजस्ता कालजयी गीतमा स्वर तथा सङ्गीत दिएका उनले स्वदेश तथा विदेशमा पाँचसय बढी साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका छन् ।
प्रमुख अतिथि कृष्णप्रसाद आचार्यले यस क्षेत्र शिक्षामा मात्र नभएर कला, संस्कृति र संगीतका क्षेत्रमा पनि अब्बल रहेको बताए । उनले विभिन्न क्षेत्रमा योगदान पुर्याउने प्रतिभाको सम्मानले स्वयं संस्था नै सम्मानित हुने बताए ।
सम्मानित व्यक्तित्व पूर्ण नेपालीले आफू जन्मिएको र अध्ययन गरेकै क्षेत्रमा सम्मानित हुन पाउँदा गर्व लागेको अनुभव सुनाए । पूर्व राजपरिवारका सदस्यलाईसमेत संगीत अद्यापन गराएका उनले लोकसस्कृति र संगीतको विकासमा सबै पक्षको ध्यान जानु आवश्यक रहेकामा जोड दिए ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतले मञ्चले गरेका विभिन्न कार्यक्रम अरु संस्थाका लागि पनि अनुकरणीय रहेको बताइन् ।
सोही अवसरमा मञ्चलाई सहयोग गर्ने एस.एल. सी. व्याच २०४८ र कल्याण गुरुङसहितका सहयोगीलाई पनि सम्मान गरिएको थियो ।
मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जय बस्नेत र सञ्चालन सचिव भीमबहादुर गायकले गरेका थिए ।
यसैबीच मञ्चको नवौं अधिवेशनले पुनः हरिबहादुर बरुवालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा सञ्जय बस्नेत, सचिवमा माधव तिमिल्सेना, सहसचिवमा डा.ई महेन्द्र बानियाँ, कोषाध्यक्षमा रिता तिमिल्सिना चयन भए । यसैगरी सदस्यमा एकराज नेपाली, कृष्ण थापा, सूर्यबहादुर गायक, मिनुका भुजेल, सृजना थापा र शकुन्तला केसी निर्वाचित भएका छन् । निर्वाचन समिति संयोजक नरनाथ भट्टराई तथा सदस्यहरू दयाशंकर अधिकारी र कुलबहादुर खत्रीले निर्वाचन प्रक्रिया सम्पन्न गरेका थिए ।
