SATURDAY SEP 19, 2026

माछापुच्छ्रेका स्रष्टा एउटै मञ्चमा सम्मानित हुँदै

माछापुच्छ्रे गाउँपालिका भित्रका स्रष्टा-साहित्यकार एउटै मञ्चमा सम्मानित हुने भएका छन् । यसरी सम्मानित हुने अवसर माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकले जुराएको हो ।

संस्थाले यही असोज ४ गतेका दिन विशेष समारोहका बीच सहयोग हस्तान्तरण, सांगीतिक कार्यक्रमसहित स्रष्टालाई सम्मान गर्न लागेको कार्यक्रम संयोजक कृष्णप्रसाद बास्तोलाले नौलो खबरलाई जानकारी दिए ।

संस्थाले माछापुच्छ्रे क्षेत्रभित्रका कम्तिमा साहित्यिक कृति प्रकाशित गरेका स्रष्टालाई सम्मान गर्ने तयारी गरेको संस्थाका सचिव सुशील श्रेष्ठले जानकारी दिए ।

सम्मानित हुनेमा खिमलाल गौतम, छविलाल आचार्य, टेकनाथ पीडित, विजय अधिकारी, भानु अविरल, रघुनाथ शर्मा, लक्ष्मण गौतम हिमाली, लोचना अधिकारी, विनोदमोहन आचार्य, शशी अधिकारी, सूर्य गिरी र श्रीकृष्ण पौडेल रहेका छन् ।

स्रष्टा साधक भाषा-साहित्यका अग्रदूत भएकाले उनीहरूको योगदानको कदर स्वयम्सेवी संस्थाले निष्पक्ष भएर गर्नुपर्ने चिन्तनले पालिकाभरिका स्रष्टालाई एउटै मञ्चमा सम्मान गर्न लागिएको सम्मान गण्डकी प्रदेश क्षेत्रकै नमूना कार्यक्रम रहेको मूख्य व्यवस्थापक राजु क्षत्री अपुरो बताउँछन् । उनी थप्छन्, विभिन्न दृष्टिकोण, विचार र आस्थाका आधारमा कित्ताकाट गर्ने प्रवृत्तिले सम्पूर्ण स्रष्टा साधक एउटै मञ्चमा उपस्थित हुने अवसर नपाएका अवस्थामा त्यो कार्यक्रम यस क्षेत्रका स्रष्टाका लागि एउटा कोशेढुंगा सावित हुने छ ।

सोही समारोहबीच गायिका सरस्वती अधिकारी, सुरक्षा शाही, बाल कलाकार कृष्टिना जिसीलगायतको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने भएको छ ।

संस्थाले सोही समारोह बीच एस.इ.इ. उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन पुरस्कार तथा आर्थिक सहयोग हस्तान्तरणसमेत गर्ने भएको छ । स्मरण रहोस् संस्थाले २०८३ भदौ १४ गते नै आयोजना गर्ने तयारी गरेको कार्यक्रम भोटेकोशी विपद्का कारण असोज ४ गतेका लागि सारेको हो ।

सम्मान समारोहको समुद्घाटन आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक एवम् स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गर्ने जनाइएको छ ।

Facebook Comments