FRIDAY JUN 26, 2026

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच पोखरामा भेटवार्ता भएको छ ।

अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरेका थिए ।
भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे अनुभव साझा गरेका थिए । प्रदेश–प्रदेशबीच भएका राम्रा कामको अनुशरण गर्ने, प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुखद्वयले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।
प्रमुखसहित बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपानेलाई गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, कार्यालयका उपसचिवद्वय रामेश्वर अर्याल र प्रविण पौडेल, लेखा अधिकृत युवराज पौडेल, लगायतले स्वागत गरेका थिए ।

Facebook Comments