THURSDAY JUN 25, 2026

मुस्ताङका पाँच पत्रकार सम्मानित

हिमालपारिको जिल्ला मुस्ताङका पाँच पत्रकार सम्मानित भएका छन् । घरपझोङ गाउँपालिकाद्वारा  सदरमुकाम जोमसोममा आयोजित १८ औँ गाउँ सभामा उनीहरूलाई सम्मानित गरिएको हो ।

पालिकाले आफ्नो विवेक र कलमका माध्यमबाट समग्र मुस्ताङको ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक र पर्यटन प्रवर्धनमा  पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै जनही १५ हजार राशीसहित सम्मानित गरेको हो ।

सम्मानित हुनेमा राष्ट्रिय समाचार समिति मुस्ताङका संवाददाता सुशिलबाबु थकाली र सुन्दरकुमार थकाली, हिमालपारीको आवाज साप्ताहिकका सम्पादक भीमबहादुर रसाईली, नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाईली र काेषाध्यक्ष निरज थकाली रहेका छन् ।

गाउँपालिकाको १८ गाउँसभा अधिवेशनमा पत्रकारसहित विभिन्न क्षेत्रमा आवद्ध उत्कृष्ठ संघसंस्था र व्यक्तिलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले सामाजिक क्षेत्रमा अमूल्य योगदान पुर्याए बापत पुथाङ आमा समूह, जोमसोम महिला समूह, मिलिजुली टोल विकास संस्था जोमसोम र घरपझोङ-५, ठिनी आमा समूहलाई नगदसहित सम्मान गरेको हो ।

गाउँपालिकाद्वारा चालु आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ठ शिक्षकका रूपमा छैरो आधारभूत विद्यालयका शिक्षक देवराज पाण्डे, सामुदायिक विद्यालयतर्फ उत्कृष्ट वातावरणीय सरसफाइमा योगदान गरेबापत मार्फास्थित श्री जनबाल माध्यममिक विद्यालय, स्वास्थ्यतर्फ घरपझोङ गाउँपालिका कार्यालयका स्वास्थ्य शाखा संयोजक कर्णबहादुर थकाली र मार्फा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुनिता पुनलाई नगदसहित सम्मान गरेको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

अध्यक्ष लालचनका अनुसार स्वास्थ्यतर्फ उत्कृष्ठ महिला स्वास्थ्य स्वयंसेविक मैना कुमारी गुरुङ, धार्मिक तथा सांस्कृतिक क्षेत्रको उत्कृष्ठ सरसफाईतर्फ मार्फा गुम्बाका लामा कर्मा हिराचन र स्थानीय उत्कृष्ठ उद्यमीतर्फ मार्फा गाउँका तिलबहादुर बिकलगायतलाई नगदसहित सम्मान गरिएको हो ।

घरपझोङ गाउँपालिकाद्वारा वडा तथा स्वास्थ्य संस्थातर्फ उत्कृष्ठ कार्य सम्पादन गरेवापत वडा नम्बर-१ का कार्यालय सहयोगी सुनिल परियार र गाउँपालिमा कार्यालयमा कार्यरत उत्कृष्ठ कार्यालय सहयोगी विन्दु परियारलाई नगदसहित सम्मान गरिएको छ ।

गाउँपालिकाद्वारा उत्कृष्ठ कार्य सम्पादन गर्ने वडा सचिव घरपझोङ गाउँपालिका-२ मार्फाका वडासचिव पाराश्वर सापकोटा, उत्कृष्ठ कर्मचारी केदारसिंह थापा र राजश्व सहायक तथा एम आई एस अपरेटर सुस्मिता नेपालीलाई पनि नगदसहित सम्मान गरेको छ ।

पालिकाले मुस्ताङ जिल्लामानै पहिलो पटक दुई दर्जन बढी विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति र संघसंस्थालाई पुरस्कारसहित सम्मान गरेको पालिका अध्यक्ष लालचनले जानकारी दिए ।

Facebook Comments