एसइई नतिजा प्रकाशनमा ऐतिहासिक रेकर्ड कायम
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । बोर्डले परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरेर रेकर्ड राखेको हो ।
यसअघि तीन महिनाभित्रमा नतिजा सार्वजनिक हुने गरेकोमा गत चैत १९ देखि २९ गतेसम्म सम्पन्न परीक्षाको नतिजा बोर्डले सोमवार साँझ सार्वजनिक गरेको थियो ।
सार्वजनिक नतिजानुसार यस पटक नियमिततर्फ ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । यो २०८१ सालको एसइई नतिजाभन्दा चार प्रतिशत धेरै हो ।
२०८१ सालमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने २०८० सालको नतिजामा ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको पाइन्छ ।
परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएकामा दुई लाख ८४ हजार १६० जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । एक लाख ४६ हजार ५०७ जना अनुत्तीर्ण अर्थात् ननग्रेडेड समूहमा परेका छन् ।
जस अनुसार ३.६० देखि ४ जिपिए सम्म ल्याउने परीक्षार्थी ४८ हजार ३९२ जना, ३.२० देखि ३.६० जिपिएसम्म ल्याउने परीक्षार्थी ८० हजार ३९२, २.८० देखि ३.२० जिपिएसम्म ल्याउने परीक्षार्थी ९४ हजार २२२ जना छन् ।
२.४० देखि २.८० जिपिएसम्म ल्याउने परीक्षार्थी ५५ हजार ९७७ जना त्यस्तै २ देखि २.४० जिपिएसम्म ल्याउने परीक्षार्थी पाँच हजार १९० तथा सबैभन्दा तल्लो ग्रेड अर्थात् १.६० देखि २ जिपिएसम्म ल्याउने परीक्षार्थी सात जना रहेका छन् ।
ननग्रेडेड समूहमा परेका परीक्षार्थीलाई बोर्डले असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । यस परीक्षामा जति विषयमा अनुत्तीर्ण भएका परीक्षार्थी पनि सहभागी हुन पाउने र नतिजामा चित्त नबुझेका परीक्षार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
