फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय
नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६ मा उल्लेख गरेको फेवा संरक्षित जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन शुरु गर्ने निर्णय गरिएको छ ।
जिल्ला भू तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नवगठित सरकारले फेवा संरक्षित जलाधार क्षेत्रको प्रभावकारी संरक्षण तथा व्यवस्थापनको विषयलाई उच्च महत्त्व दिई शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा समावेश गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।
यस अघि वन तथा भू संरक्षण विभागका उप-महानिर्देशक उद्धबबहादुर घिमिरेको संयोजकत्वमा गठित कार्यदलले फेवा जलाधार क्षेत्रको स्थलगत अध्ययन गरी जिल्ला भू तथा जलाधार संरक्षण समिति कास्कीका पदाधिकारी तथा सरोकारवाला निकायहरूबीच अन्तरक्रिया सम्पन्न गरेको थियो ।
अन्तरक्रियामा भू तथा जलाधार विज्ञ रामदीप थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र उपर विज्ञ सदस्य डा प्रेम पौडेल, साविक जिल्ला विकास समिति कास्कीका सभापाति पुण्यप्रसाद पौडेल ,पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछाने, नागरिक समाजका अगुवा राम बहादुर पौडेलसहितका सरोकारवालाले टिप्पणी र सुझाव पेश गरेका थिए ।
