१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव सम्पन्न
चैत २७ बाट सुरु महोत्सव सम्पन्न भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ : आलु एक परिकार अनेक मूल नाराका साथ महोत्सव गरिएको हो ।
महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोबार भएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन् ।
महोत्सवमा आलुका परिकारका स्टलका अलवा कृषितर्फ ३० तथा एकसय बढी व्यापारिक स्टल रहेको र १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाइ छ ।
महोत्सवको रत्यौली गीत प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौंसी आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, खुट्टेगौंडा लामाचौतारा आमा समूह र चापाघाट आमा समूह सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमश: नगद १० हजार, ८ हजार, ५ हजार साथै ३ हजारका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
कृषि झाँकी र्याली संघसंस्थातर्फ नेवा खल: पहिलो, मातृकेश्वर एकता भजन समूह दोस्रो, आराध्या भजन समूह तेस्रो भए । आमा समूहको कृषि झाँकीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो, लालीगुराँस आमा समूह तेस्रो भए । लक्ष्मी आमा समूह र तिब्रकोट आमा समूह सान्त्वना हुन सफल भए । त्यस्तै नृत्यतर्फ जनकल्याण आमा समूहले उत्कृष्टता हासिल गर्दै खसी पुरस्कार जित्न सफल भयो ।
महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति साथै विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिएको थियो ।
