THURSDAY APR 09, 2026

गायक कल्याण शेरचनको प्रतिमा अनावरण

२७ माघ, पोखरा। चर्चित गायक कल्याण शेरचनको शालिक पोखरामा अनावरण गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतवार पोखरा–१८ स्थित जामुन बोटमा स्थापित शालिकको अनावरण गरे ।

कल्याण शेरचन प्रतिष्ठानद्वारा निर्माण गरिएको उक्त शालिक अनावरण कार्यक्रममा कलाकार, साहित्यकार, संगीतप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर आचार्यले कल्याण शेरचनले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँको स्मृतिलाई अमर बनाउने उद्देश्यले शालिक स्थापना गरिएको बताए।

कार्यक्रममा प्रतिष्ठानका प्रतिनिधिहरूले कल्याण शेरचन केवल गायक मात्र नभई नेपाली संगीतलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने व्यक्तित्व भएको भन्दै भावी पुस्ताका लागि उहाँ प्रेरणाको स्रोत रहने धारणा व्यक्त गरे ।

कल्याण शेरचन नेपाली आधुनिक गीत–संगीतका लोकप्रिय गायक तथा संगीतकार थिए । शेरचनले २०३० को दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै विशिष्ट पहिचान बनाएका थिए।

शालिक अनावरणसँगै पोखरा–१८ को जामुन बोट क्षेत्र कल्याण शेरचनको स्मृतिसँग जोडिएको सांगीतिक गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ ।

Facebook Comments