डुङ्गा दौडका विजेतालाई खसी, बोका र भाले पुरस्कार
१५ पौष, पोखरा । रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
खुला र संस्थागत गरी दुई इभेन्टमा आयोजना गरिएको प्रतिस्पर्धामा खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्दा कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ ।
संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रविप्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोलीले तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हासिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गरे ।
महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कार टोकला चियाकातर्फबाट नगद पाँचहजार नगद प्रदान गरियो ।
विजेतालाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक वसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईलगायतले पुरस्कार वितरण गरे । महोत्सवमा मंगलवारदेखि रस्साकसी प्रतियोगिता शुरु भएको छ ।
