THURSDAY JAN 15, 2026

त्रिदिवसीय कविशिरोमणि जन्मजयन्ती समारोहका कार्यक्रम सुरु

१३ पौष, पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् ।
कविशिरोमणि १४२ औं जन्मजयन्ती त्रिदिवसीय रूपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गर्ने लक्ष्यनुरूप आइतवार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भए ।

प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले कवि लेखनाथका काव्य परिचर्चा गरे ।
समारोहमा लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकमा विद्यावारिधि गरेका बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्रा.डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथको काव्यकारिताका बारेमा चर्चा गरेका थिए ।

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय, श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हाँसिल गरेका थिए । गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हाँसिल गरे ।

विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्शकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्राई द्वितीय, लिटल फ्लावरकी सुदीक्षा पौडेल र जेसिएकी सुरक्षा बरालले तृतीय स्थान हाँसिल गरे ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पौष १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ र पौष १५ गते अर्चलेमा मूल समारोह हुनेछ । उक्त समारोहमा लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स, आमा समूहहरू, युवा क्लब, बेगनास ताल बस संचालक समिति सह–आयोजक रहेका छन् ।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए ।

Facebook Comments