न्यू ईयर ईभमा उज्जन शाक्य पनि गुञ्जिने
१० पौष, पोखरा ।पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् ।
रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाइन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाइभ प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीत गुञ्जाउने बताए ।
सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य पनि गुञ्जिनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकहरू रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुति दिनेछन् । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनैभरि, नक्कली कान्छीलगायतका गीतहरू प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकाश, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्ने जनाइएको छ ।
न्यू ईयर ईभको साँझमा नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुति दिने र सो दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतमा डान्स प्रस्तुति दिनेछिन् ।
उक्त कार्यक्रम अन्तर्गत पुस १५ गते साँझ चर्चित व्याण्डहरू स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाइभ व्याण्ड प्रस्तुति दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीत प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीत गुञ्जाउने छन् ।
सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए ।
पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टरस्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
