लेखनाथ महोत्सवमा बढ्दो व्यापार
६ पुस, पोखरा । २१ औं संस्करणको लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिँदा त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ ।
महोत्सवको रौनक बढेसँगै विभिन्न व्यवसायमा संलग्न स्टलवालाहरू उत्साहित देखिएका छन् ।
विशेषगरी कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा उल्लेखनीय वृद्धि भएको स्टल सञ्चालकहरू बताएका छन् ।
महोत्सव अवलोकनका लागि आउने दर्शक तथा उपभोक्ताहरूले स्थानीय तथा जैविक उत्पादनप्रति चासो देखाउन थालेपछि यस्ता स्टलहरूमा घुइँचो लागेको देखिन्छ ।
महोत्सव स्थलमा स्टल नं. २८ मा मुस्ताङ जिल्ला चोहोेर गाउपालिका ९ की ५० वर्षीया पासाङ आयो पहिलो पटक लेखनाथ महोत्सवमा सहभागी भएकी हुन् । पहिलो सहभागितामै व्यापार राम्रो भएपछि उनी निकै उत्साहित देखिन्छिन् । उनले जिम्बु, टिमुर, विरैनुन, जाइफल, हर्रोलगायतका विभिन्न प्राकृतिक जडीबुटी बिक्री गर्दै आएकी छन ्। उनको दैनिक करिब १५ हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको छ । स्थानीय तथा शुद्ध प्राकृतिक उत्पादन खोज्ने ग्राहकको संख्याले आफूलाई थप हौसला दिएको उनको भनाइ छ ।
स्टल नं. ३५ मा रहेको शीतल जडीबुटीका सञ्चालक तथा पोखरा महानगरपालिका ३१ निवासी वैद्य जयबहादुर थापा विगतदेखि निरन्तर रूपमा लेखनाथ महोत्सवमा सहभागी हुँदै आएका छन् । उनले यस वर्ष पनि महोत्सवबाट लाखौँ रुपैयाँ बराबरको व्यापार भएको जानकारी दिए । थापाका अनुसार चौटा जोर, कुरिलोको जरा, हर्रो, बर्रो, सिखारीको लहरालगायतका जैविक जडीबुटीहरू विशेषगरी महिला ग्राहकको रोजाइमा परेका छन् । स्वास्थ्यप्रति सचेत उपभोक्ताको बढ्दो आकर्षणले जडीबुटी व्यवसायलाई थप बल पुगेको उनले बताए ।
महोत्सवमा कृषि तथा जडीबुटी मात्र होइन, स्थानीय खाद्य तथा माछा व्यवसाय पनि फस्टाएको देखिन्छ। स्टल नं. ९ मा रहेको बेगनास माछा पसलका सञ्चालक नारायण नेपालीले विभिन्न स्थानीय जातका ताजा माछाको दैनिक करिब ६० हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ताका कारण माछा बिक्रीमा वृद्धि भएको उनको भनाइ छ ।
स्टल नं. ३६ मा रहेको स्मार्ट बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक राहुल थापाले सिरम्ला, काउनु, मस्यौरा, फापरलगायत स्थानीय खाद्यान्नको व्यापारबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको जानकारी दिए । परम्परागत खानाप्रति युवा पुस्ताकोसमेत आकर्षण बढ्दै गएको देख्दा आफूहरू उत्साहित भएको उनले बताए ।
दुग्धजन्य पदार्थको व्यापार पनि महोत्सवमा राम्रो देखिएको छ । स्टल नं. २८७ मा रहेको तालचोक डेरी पसल सपका सञ्चालक पवित्रमणि पौडेलले दूधबाट बनेका विभिन्न परिकारको बिक्रीबाट दैनिक २५ हजार रुपैयाँभन्दा बढी नगद कारोबार भइरहेको बताए । जाडो मौसम सुरु भएसँगै खुवा र कुराउनीको माग उल्लेखनीय रूपमा बढेको र ग्राहकको चासो राम्रो रहेको उनको भनाइ छ ।
फलफूल व्यवसाय पनि महोत्सवमा आकर्षणको केन्द्र बनेको छ । स्टल नं. २९६ मा रहेको गुरुङ फलफूल पसलका ईश्वर गुरुङले दैनिक ३० हजार रुपैयाँभन्दा बढीको सुन्तला तथा अन्य फलफूल बिक्री भइरहेको जानकारी दिए। ताजा र स्थानीय फलफूलप्रति उपभोक्ताको आकर्षण बढ्दा व्यापार सहज भएको उनले बताए ।
समग्रमा लेखनाथ महोत्सवले स्थानीय उत्पादन, कृषि, जडीबुटी तथा साना व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ । महोत्सव अझै केही दिन चल्ने भएकाले आगामी दिनमा व्यापार थप बढ्ने आशा गरिएको छ। आयोजक तथा स्टल सञ्चालकहरूले महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।
महोत्सवको चौथो दिन मात्र एक करोड बराबरको कारोवार तथा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका प्रचारप्रसार संयोजक धु्रवबावु भटट्राईले जानकारी दिए ।
आइतवार शिवेश्वर महिला समूह पोखरा २९ र बयेर पाके महिला कृषक समुह पोखरा, ३० र मातृशीशु कल्याण आमा समूह पोखरा २८ ले रत्यौली प्रस्ततु गरेका थिए । विद्यालयस्तरीय प्रस्तुति अन्तरगत त्रिवेणी पब्लिक, एपेक्स प्रि स्कुल, विएमजी मावि र लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको प्रस्तुति रहेको थियो भने नृत्यतर्फ सैनिक बस्ती गुप्र नं १ को घाँटुनाच प्रस्तुत भएका थिए ।
आइतवार लोकदोहोरी कलाकारतर्फ जीवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरी ढुङ्गाना, रमा गौतम, सन्तोष सुवेदी र पुजा तामाङ्गको र सुगम संगीततर्फ बसन्त सापकोटा, सन्तोष बस्याल र विन्दु परियारको प्रस्तुती रहेको थियो । साथै, महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति जारी छन् ।
