गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक
पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘रातो रिवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्यूजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो।
शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार शिव त्रिपाठीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उनले लोक लयमा आधारित पप संगीत सुस्ताएको समयमा ‘रातो रिवन’ संजीवनी बनेर आएको बताए। उनले गीत सिर्जनामा मात्र नभई स्वर र अभिनयमा पनि सर्जक पौडेल अब्बल रहेको भन्दै प्रशंसा गरे।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गीता भट्टराई भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-१९ का वडा सदस्य विकास कुमार आचार्य, पूर्व वडा सदस्य कोमलप्रसाद बास्तोला, युवा नेता अर्जुन अधिकारी, प्रतिष्ठानका सल्लाहकार इन्दु भट्टराई, रेडक्रस सोसाइटी उपशाखा पोखरा १९ का अध्यक्ष रमेश विक, महेन्द्र माविका सहायक प्रधानाध्यापक नन्दराज दाहाल, गीतकार कोविदशरण उपाध्याय, भिडियोका निर्देशक मनोज विक ‘भावुक’ लगायतकाले चर्चा गरेका थिए।
स्रष्टा पौडेलको परिचय गराउँदै पत्रकार शिशिर उजाडले रोजगारीका लागि विदेशी भुमिमा रहँदा पनि गीत लेखनलाई निरन्तरता दिनु नै साधना भएको बताए। निरन्तरको साधनाका कारण उनका गीतमा ग्रामिण परिवेश सहित त्यहाँको बोलीचालीको भाषा झल्कने गरेको सुनाए ।
स्रष्टा पौडेलले विदेशमा पसिनामा परिवारको सपना खोज्दै गर्दा शब्द रचना गरेको अनुभव सुनाए। सांगीतिक क्षेत्रमा लाग्ने हुटहुटी कै कारण प्रयास सफल भएको बताए। सो अवसरमा साहित्यकार मोहनप्रसाद पौडेल, हेम्जा साहित्य प्रतिष्ठानका सचिव छन्दिका त्रिपाठी, शान्तिरमण पौडेल, इन्दु भट्टराई, श्रीराम पौडेल, सुवासबाबु अधिकारी, संजय थापा, प्रनिशा पौडेल र हरिबहादुर थापाले रचनावाचन गरे।
प्रतिष्ठानका प्रथम उपाध्यक्ष दिपेन्द्र बानियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए।
लभ बाइटको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा गायक पौडेललाई मोडल सिर्जना गुरुङले साथ दिएकी छन्। घार्मीका मनोरम दृश्य कैद गरिएको भिडियोमा पौडेल र गुरुङ अलवा भरत अधिकारी, विमला रसाइली,अनिल रामदाम, अन्जना मगर, गोमादेवी पौडेल, सुस्मिता पौडेल, अस्मिता पौडेल, अस्मिता जिसीको अभिनय रहेको छ।
गीतको रेकर्ड भने ओमानको आर के स्टुडियोमा गरिएको हो। सुसन लामाको संगीत रहेको गीतको एरेन्जर फणिन्द्र राई हुन्। हिमलाल पौडेल ‘अभि’ युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन मनोज विक भावुकले गरेका छन्।
पौडेलले यस अघि विरदास श्रेष्ठको स्वर रहेको हलचल र चर्चित गायक प्रमोद खरेलको आवाज तथा बाबुल गिरीको एरेन्जमा सात समुन्द्र पारी बोलको गीत बजारमा ल्याएका थिए।
