THURSDAY JAN 15, 2026

लेखनाथ महोत्सवको रौनक बन्यो रत्यौली

४ पुस, पोखरा । नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो ।

जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष लोकदोहोरी गायक प्रजापति पराजुलीले बताए । रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने पराजुली बताउँछन् ।

मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष शिवहरि ढुंगानाले भने । रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढुंगानाले वताए । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।
रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाउने गर्दछन । महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले बताइन् । पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले भने विवाहको जस्तै पञ्चेवाजाको साथमा बेहुला र बेहुली नै बनाएर विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो ।
महोत्सवको थप आर्कणको रुपमा रहेको रत्यौली प्रस्तुत गर्न २० समूह पहिलो चरणबाट छनोट भएकामा शुक्रबार नमुना कृषक आमा समूह पोखरा–२६, भरतपोखरी विश्वकर्मा समाज महिला पोखरा–३३ र सरस्वती सामुदायिक महिला समूह पोखरा–३३ ले रत्यौली प्रस्तुत गरेका थिए भने शनिबार गायत्री आमा समूह पोखरा–३२ ले रत्यौली प्रस्तुत गर्नेछ ।
यस्तै महोत्सवको विद्यालयस्तरीय कार्यक्रम अन्र्तगत शुक्रबार सरस्वती टिका मावि, ओएसिस सेकेण्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि, अमरसिद्ध नमुना माविको प्रस्तुती रहेको थियो भने शनिबार ४ वटा विद्यालयको प्रस्तुती रहेको विद्यालयस्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुनप्रसाद आचार्यले जानकारी दिए ।
शुक्रबार लोकदोहोरी कलाकार धनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरी ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ, अमृता हमाल लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा स्थानीय ब्याण्डको प्रस्तुती रहेको थियो ।
शनिबार लोकदोहोरी कलाकार खुमन अधिकारी, मिरा पोख्रेल, शान्ता वर्देवा, मधु थापा मगर, गगन गुरुङ, शिवहरी ढुंगाना र हाँस्यव्यग्यतर्फ राजेन्द्र गिरी(गुन्द्रुके), सुगम संगिततर्फ रचना रिमाल र डेभीड शंकरले प्रस्तुती दिने कलाकार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

Facebook Comments