WEDNESDAY MAY 13, 2026

बैंकिङ क्षेत्रमा प्रयोग हुने एआईलाई नियमनमा ल्याइने

२२ मंसिर, पोखरा ।नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा प्रयोग हुने ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) लाई नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याउने भएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको ‘प्रडक्टवाइज’ सञ्चालन गर्ने एआईका सन्दर्भमा समेत नियमन र सुपरिवेक्षण गर्ने गरी अहिले एआई मार्गदर्शन तयार गरेको छ । केन्द्रीय बैंकले सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग पर्याप्त छलफलपछि तयार गरेकोे मार्गदर्शनको मस्यौदा सुझाव संकलनका लागि सार्वजनिक गरिएको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए ।

सरकारले राष्ट्रिय एआई नीति २०८२ ल्याएपछि केन्द्रीय बैंकले पनि बैंकिङ क्षेत्रको नियामक भएकाले आवश्यक नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन गर्ने गराउने गरी अघि बढेको उनको भनाइ छ ।

केन्द्रीय बैंकले एआईलाई पनि नियमन र सुपरिवेक्षणको दायरामा ल्याउने व्यवस्था गत आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख थियो । सोही अनुसार केन्द्रीय बैंकले मार्गदर्शन तयार गरी नियमन दायराभित्र ल्याउने प्रक्रिया सुरु गरेको ती अधिकारीको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालक समिति र उच्च व्यवस्थापन संस्थाको एआई प्रणालीबाट आउने नतिजा र निर्णयका लागि जवाफदेही रहनेछन् ।

त्यसैगरी उच्च व्यवस्थापनले एआई प्रयोग संस्थाको जोखिम स्वीकार्यता, नियमनकारी आवश्यकता र रणनीतिक लक्ष्यसँग मेल खाने सुनिश्चित गर्ने, साथै एआई प्रणालीमा संस्थाको निर्भरता मूल्यांकन, बुझ्ने र निरन्तर अनुगमन गर्ने कामसमेत गर्नुपर्ने छ ।

मानवीय निगरानी, लेखा परीक्षण योग्यता र सुधारका संयन्त्र सहित जोखिम र अनुपालन ढाँचाभित्र रही एआई प्रणाली कार्यान्वयन र दैनिक सञ्चालन निरीक्षण गर्ने काम उच्च व्यवस्थापनलाई तोकिएको छ ।

समितिले जनशक्ति, प्रक्रिया र प्रविधिका सबै पक्ष समेट्ने एआई रणनीति र सुशासन ढाँचा विकासमा मार्गदर्शन गर्ने व्यवस्था छ । एआई रणनीति र सुशासन ढाँचा संस्था सञ्चालक समितिबाट स्वीकृत हुनुपर्दछ । उच्च व्यवस्थापनमा प्रविधि–सम्बन्धित जोखिम, विशेषगरी एआईसँग सम्बन्धित जोखिम निरीक्षण गर्न पर्याप्त विशेषज्ञता भएका एक वा बढी सदस्य समावेश हुनुपर्ने समेत मयस्यौदामा उल्लेख छ ।

बढ्दो प्रविधि प्रयोग बैंकिङ सेवा सहजीकरण गरेसँगै जोखिम पनि ल्याउने सक्ने भएकाले त्यसलाई नियमन आवश्यक भएको हो ।

Facebook Comments