हुँदीभञ्ज्याङ कुल मन्दिर निर्माणका दातालाई सम्मान
२२ मंसिर, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७, हुँदीभञ्ज्याङमा निर्माण हुँदै गरेको कुल मन्दिरका दातालाई सम्मान गरिएको छ ।
मंसिर १६ गते मन्दिर परिसर पूजा, रुद्री तथा लक्ष्यवर्ती दीप प्रज्वलन, १७ गते कुलपितृ दर्पण र १८ गते पूजासहितको पुनर्मिलन तथा दाता सम्मान समारोहबीच दानदातालाई सम्मान गरिएको हो ।
हुँदीभञ्ज्याङ पुर्ख्यौली भई विभिन्न भागमा बसोबास गर्ने राधु पाध्यायका वंशजले धान्य पूर्णिमाका दिन यसै वर्षबाट हुँदीभञ्ज्याङमा विधिपूर्वक पूजासहित कुल देवताको आराधनासमेत गरेका छन् । ![]()
तीन दिवसीय समारोहबीच मन्दिरका लागि १४ आना जग्गा दान गर्ने दानवीर पदम/सीता रानाभाट, नगद तीन लाख दान गर्ने दानवीर लक्ष्मी पौडेललाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा एक लाख २५ हजार दान गर्ने दानवीर ऋषिराम राईभाट, एक लाख सात हजार दान गर्ने दानवीर रामकाजी पौडेल, एक लाख एक हजार एक सय ११ दान गर्ने दानवीर यमलाल राईभाट, एक लाख दान गर्ने दानवीर वीरेन्द्र भाटलाई सम्मान गरिएको थियो ।
समारोहमा ५५ हजार पाँच सय ५५ दान गर्ने दानवीर कर्णबहादुर पौडेल र भानुभक्त रानाभाट, ५५ हजार दान गर्ने दानवीर डम्बरबहादुर रानाभाट, ५१ हजार दान गर्ने दानवीर थमनबहादुर भाट र लोकबहादुर भाट, ५० हजार पाँच सय ५५ दान गर्ने दानवीर खिमबहादुर भाट र ललित रानाभाट , ५० हजार दान गर्ने दानवीर दुर्गाबहादुर राईभाट र हिराकाजी भाटलाई सम्मान गरिएको थियो ।

मन्दिर निर्माणमा १० हजार माथि, ४१ हजारभन्दा कम दान गर्ने दानवीर मेखबहादुर भाट, टेककाजी पौडेल, यमबहादुर भाट, थमन रानाभाट, पदममाया रानाभाट, केशर रानाभाट, केशकाजी रानाभाट, रञ्जित रानाभाट, रत्नबहादुर पौडेल, नरबहादुर पौडेल, दुर्गाकुमारी पौडेल, टीकाराम भाट, चेतभक्त राईभाट, लेखनाथ रानाभाट, धनकुमारी रानाभाट, सर्वजीत भाट, हरि रानाभाट राजु, बाबुराम रानाभाट, फत्ताबहादुर रानाभाट र तुलबहादुर रानाभाटलाईसमेत सम्मान अर्पण गरिएको थियो ।
१५ गतेदेखि नै चोखोनितो गरी कुल मन्दिरमा पूजाको शुरुवात गरी पूर्णिमाका दिन मन्दिर परिसरमै पञ्जेबाजा र भजन कीर्तनसहित जाग्राम बसेर कुल देवताको आराधना गरिएको समितिका सल्लाहकार टीकाराम भाटले जानकारी गराए ।
राधु पाध्यायका वंशजले स्याङ्जाको सेपतमा कुलपूजा गर्दै आएकामा यस वर्षदेखि हुँदीभञ्ज्याङबाटै पूजा शुरु गरेको अध्यक्ष वीरेन्द्र भाट बताउँछन् । उनले थपे, ‘हुँदीभञ्ज्याङलाई पुनर्निमलन केन्द्रका रूपमा स्थापित गराउन समिति लागिरहेको र निर्माणको ४० प्रतिशत मात्र काम सकिएकाले सबैले धन, मन र वचन दिएर सहयोग गर्नुहोला ।’


कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समितिका वरिष्ठ उपाध्यक्ष असफल गौतमले आत्रेय ऋषिका वंशजका कुलपुरुष राधु पाध्यायका वंशजले दोस्रो विश्वयुद्धपछि गाउँमा आउने गल्लाहरूको प्रलोभन र तत् समयको परिस्थितिका कारण नामका पछाडि ‘क्षत्री’, ‘बहादुर’, ‘बहादुर क्षत्री’, ‘बहादुर पौडेल’, ‘राइभाट’, ‘रानाभाट’ लेखेर भर्ती भएजस्तै कालान्तरमा दाजुबहिनी नै श्रीमान्–श्रीमती बन्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सेपतमा हुँदै आएको कुलपूजा हुँदीभञ्ज्याङबाट थालनी गरिएको बताए ।

राधु पाध्यायका वंशजको यजमानी गर्दै आएका पं. कमलपति रेग्मीको नेतृत्वमा राधुले डोको बिसाएको माझाघरको आँगनबाट कुलको लिङ्गो निकालिएको पूजामा राधु पाध्यायका वंश आत्रेय गोत्रका पौडेल, राइभाट, रानाभाट बन्धुको सहभागिता थियो ।
समाजसेवी रत्नबहादुर पौडेल, जमानसिंह रानाभाट, पं. कमलपति रेग्मीलगायतले समितिले स्तुत्य कार्य गरेको धारणा राखेको समारोहमा मन्दिर निर्माणमा एक लाख २५ हजार दान गरेका दानवीर ऋषिराम राईभाटले घण्टीसमेत दान गरेका थिए ।
