SATURDAY DEC 06, 2025

सर्वनाम थियटरमा गुन्जिए देवेन्द्रका गजल

५ मंसिर, काठमाडौँ ।गजलकार देवेन्द्र केसी देवुका गजल बिहीबार सर्वनाम थियटरमा गुन्जिएका छन्। अनाममण्डलीको आयोजनामा भएको गजल गायनमा केसीका गजल संगीतकार एवं गायक सन्तोष श्रेष्ठको गायनमा गुन्जिएका हुन् ।

श्रेष्ठले दुई घण्टासम्म दर्शकदीर्घालाई मन्त्रमुग्ध पारेर हलचलसमेत हुन दिएनन् । श्रेष्ठलाई तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

प्रमुख अतिथि प्रा.डा. देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढंगले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएको धारणा राखे।

गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे।

पोखरा-२० कास्कीमा जन्मेर नेपाली वाङ्मयका फुटकर विधा कविता, गजल, गीत र मुक्तक लेखनमा क्रियाशील केसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्षसमेत रहेका हुन् ।

उनका ‘यसरी मन पोखियो’ र ‘परेली भित्रै छु’ कवितासङ्ग्रह, ‘मनको पहिरो’, ‘इमानको पहाड’ र ‘अव्यक्त पीडा’ मुक्तकसङ्ग्रह ‘यो जुनीमा यस्तै भयो’ र ‘दोषी नजर’ गीतिएल्बम बजारमा आइसकेका केसीका धेरै गीत गजल लोकप्रियसमेत रहेका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान, गीतकार संघ नेपाल, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, सप्तरंगी सांस्कृतिक प्रष्तिठान, कस्केली अधिकृत समाज, जरा फाउण्डेशनलगायतका संघसंस्थामा आवद्ध केसी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धकसमेत हुन् ।

कार्यक्रमका परिकल्पनाकार घनेन्द्र ओझाले गजलकार र संगीतकारको परिचय प्रस्तुत गर्दै वि.सं. २०८० देखि २०९० सम्मको दशकलाई नेपाली गजल गायनको स्वर्ण दशकका रूपमा मनाइरहेको जानकारी गराए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्य र अनाममण्डली नेपालको आयोजनामा सम्पन्न भएको हो ।

स्मरण रहोस्, सौन्दर्य र शिल्प दुवै पक्षले उत्कृष्ट गजल लेखनमा क्रियाशील केसीको यस अघि पोखरामासमेत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको आयोजनामा सभ्य र भव्य समारोहका बीच गजलगायन सम्पन्न भइसकेको छ ।

Facebook Comments