SATURDAY DEC 06, 2025

सांस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा युरोपेली चलचित्र महोत्सव

५ मंसिर, पोखरा । प्रारम्भिक शिक्षा र भौतिक विकासका लागि साझेदारी गर्दैै आएको युरोपियन युनियनले कलाका माध्यमबाटसमेत सांस्कृतिक र सामाजिक सम्बन्धलाई प्रगाढ बढाउँदै आएको छ ।
युरोपका विभिन्न राष्ट्र र नेपालका बीच सांस्कृतिक र सामाजिक सम्बन्धलाई जीवन्त तुल्याउने उद्देश्यका साथ युरोपेली संघ चलचित्र महोत्सव नेपाल आयोजना हुँदै आएको छ । जसको एउटा नमूनाकारूपमा युरोपेली संघ चलचित्र महोत्सवलाई लिन सकिन्छ ।
१३ वटा महोत्सवका शृङ्खला पूरा गरिसकेको संघले १४ औैं संस्करणको महोत्सव पोखरामा आयोजना गर्ने भएको छ । बिहीवार पोखरामा पत्रकार सम्मेलन गरी युरोपेली संघ चलचित्र महोत्सव नेपाल-२०२५ आयोजक समितिले सन् २०१८ पछि पुनः पोखरामा महोत्सव आयोजना गरिएको जानकारी गराएको छ ।
संघले युरोप र नेपाली कलाकारका फिल्म प्रदर्शन गरेर महोत्सव आयोजना गर्नुका साथै वर्कसप सञ्चालन गरेर नेपाली फिल्मलाई उत्कृष्ट गन्तव्य निर्धारणमासमेत सहयोग गर्दै आइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाली फिल्मका लागि ५० वटा नोमिनेसनमा परेकामा उक्तमध्ये नौ वटा चयन गरेर प्रदर्शन गर्न लागिएको पनि आयोजक संस्थाले जनाएको छ ।
पत्रकारहरूले राखेका जिज्ञासाको समाधान गर्दै  युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल प्रेस तथा सूचना अधिकारी बिद्या महर्जनले यसरी महोत्सव आयोजना गर्नुको उद्देश्य काठमाडौँ बाहिर चलचित्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने मूल ध्यये रहेको बताइन् ।
यसपटकको महोत्सवमार्फत् विख्यात युरोपेली चलचित्रकर्मी तथा उदीयमान नेपाली स्वरहरूलाई एकैसाथ ल्याउँदै सीमानाविनाको चलचित्रको उल्लास भित्र्याउने आयोजकको दाबी रहेको छ। यस संस्करणमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र गरी २५ वटा सामेल रहने जनाइएको छ।
महोत्सवमा युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट ‘बाञ्जो’, फिनल्याण्डबाट ‘जे’भिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हंगेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् । संयुक्त अधिराज्यबाट बाफ्टा लघुचलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ र ‘आडिओस’ रहने जारी विज्ञप्तिमा जनाइएको छ । महोत्सवमा स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थासँगको सहकार्यमा छनौट गरिएका नेपाली लघुचलचित्र ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस’ र ‘इटर्नल किनशिप’  पनि प्रदर्शन गरिने भएका छन् ।

ती फिल्ममा पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई केलाएका चलचित्रले हिम्मत, स्मृति तथा आशाका साझा सिनेमा-भाषालाई प्रतिबिम्बित गरेकाे जनाइएको छ। साथै महोत्सवमा देखाइने चलचित्रले सीमाका बन्धनभन्दा माथि उठेर हाम्रा साझा मानव अनुभूतिलाई उल्लासको विषय बनाउने प्रकृतिका सिनेमा-संवाद निर्माण गरेको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल प्रेस तथा सूचना अधिकारी बिद्या महर्जनको दावी रहेको छ ।

पोखरामा आयोजित महोत्सवसँगै शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने त?’ भन्ने शीर्षकमा छलफल कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आफ्नो अनुभवका आधारमा पोखरालाई काठमाडौँबाहिर एक सक्षम, दिगो र सम्भावनायुक्त चलचित्र केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारे आफ्ना विचार पनि प्रस्तुत गर्ने वक्तामा गौ माया गुरुङ, जस्सु गुरुङ, प्रविण टक्की कार्कीका साथमा प्रस्तोता सुनिर पाण्डे रहने प्रेस तथा सूचना अधिकारी बिद्या महर्जन बताउँछिन्।

फेस्टिभलमा देखाइने युरोपेली चलचित्रतर्फ बाञ्जो— पोर्चुगल, अस्ट्रिया— ह्याप्पी, फिनल्याण्ड— जे’भिदा, जिप्पी नो मोर— नेदरल्यान्ड्स, लोला— आयरल्याण्ड, संयुक्त अधिराज्य,  रिमेम्बर टु ब्लिंक— लिथुएनिआ, द गर्ल फ्रम टुमरो— फ्रान्स तथा इटाली, द लास्ट एक्सपिडिशन— पोल्याण्ड, स्विटजरल्याण्ड, थ्री किलोमिटर्स टु द एण्ड अफ द वर्ल्ड— रोमेनिया  र विथआउट एअर— हंगेरी रहेका छन् ।

फेस्टिभलमा देखाइने नेपाली लघुचलचित्रतर्फ चिसोघर,  अबिस (बिनिथ द ब्लुज), अर्केस्टा, चाँदनी, इटर्नल किनशिप, ग्राण्डमाज् म्याजिक कोम्ब, साइलेन्ट स्कार्स, द काठमाडौँ  र ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन रहेका छन् । बाफ्टा लघुचलचित्रतर्फ आडिओस, मिल्क, मग्स क्रिसमस, रक पेपर सिजर्स, स्टमक बग र वान्डर टु वोन्डर रहेका छन् ।

१४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ लाई फ्रान्स, जर्मनी र फिनल्याण्डका सहित काठमाडौँ र दिल्लीमा युरोपेली संघका सदस्य राष्ट्रहरूलाई प्रतिनिधित्व गर्ने दूतावास तथा सांस्कृतिक संस्थाहरू तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलले आयोजना गरेकाले पोखराको ट्रेड मलको QFX मा सम्पन्न हुने चलचित्र प्रदर्शनी नि:शुल्क रहने र सबै चलचित्रमा अँग्रेजी सबटाइटल सामेल गराइएको आयोजक संस्थाले जनाएको छ ।

Facebook Comments