पोखराको घार्मीमा बालाचतुर्दशी मेला हुने
३० कार्तिक, पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ ।
पोखरा १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी अहिले मन्दिर परिसरमा सजाउने कार्य शुरु गरिएको छ ।
स्थानीयका घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिने फूलको डोली बाजागाजा र भजनकिर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याउने प्रचलन छ। फूलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ ।
सो धार्मिक मेलामा विश्व हिन्दू महासंघ पोखरा १९, भूमे मैदान भजन समूह र स्थानीय युवाले दिनभर भजनकिर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जनसमेत दिने बताइएको छ।
स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापनको तयारीसमेत गरेका छन् । त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौरलगायतका क्षेत्रबाट भक्तजन पुग्ने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले जानकारी दिए ।
स्थानीय प्रेमबहादुर जिसीका अनुसार अघिल्ला वर्षमा मन्दिरमा सद्विज छर्न र दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको थियो ।
पछिल्लो समयमा विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए ।
मन्दिर परिसरमा नै रहेको घार्मी भ्यू टावरले त्यहाँ थप आकर्षण थपेको छ । पोखराको दृश्यसहित् मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बालाचतुर्दशी तथा महाशिवरात्री पर्व विशेष रूपमा मनाउने गरिन्छ ।
