सिद्धि गौचनको योगदान अतुलनीय
१२ कार्तिक, पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित सिद्धि गौचनको १५ औं स्मृति दिवस समारोहका वक्ताले उनको योगदान अतुलनीय रहेको बताएका छन् ।
स्मृति सभाका वक्ताले समाजसेवी तथा महिला उद्यमीका रूपमा सुपरिचित रहेर सिद्धि गौचनले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका आयाममा जुन क्षेत्रबाट चर्चा गर्दा पनि उनको योगदान शब्दमा व्यक्त हुन नसक्ने धारणा राखेका छन् ।
सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बाबुआमाले पुर्याएको योगदान जस्तै हरेक पुरुषलाई सफल बनाउन श्रीमतीको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।
उनले सिद्धिको योगदानलाई जीवन्त राख्न कोष स्थापना गरेकामा कोषको रकम वृद्धिका लागि छोरा लेलिनकुमार गौचनबाट प्राप्त ५० हजारसमेत संस्थालाई हस्तान्तरण गरे । सोही समारोहबीच एक दाताले कोष वृद्धिका लागि गोप्य १५ हजार सहयोगसमेत घोषणा गरे ।
इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले समाजमा सेवा भावनाले स्थापना भएका संस्थाका कार्यले हरेक व्यक्तिलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने धारणा राखे । उनले आफ्ना हजुरबुबा आमाको स्मरणमा कोष स्थापना गरेर साहित्य क्षेत्रमा केही योगदान दिन पाएकोमा खुसी व्यक्त गरे ।
थकाली सेवा समिति गण्डकीका अध्यक्ष तेजेन्द्र तुलाचनले थकाली समाजको क्षेत्रीय भवन निर्माणमा सिद्धि गौचनको योगदान अतुलनीय भएकाले उनको स्मृति सभा समाजमै गर्न सुझाए । उनले थकाली समुदायमा हिजो आफ्ना बन्धुलाई परेको खाँचो टार्न अन्न बालीका माध्यमबाट सहकार्य हुँदै आएकोमा हाल उक्त परम्परा पैसाका माध्यमबाट अगाडि बढेको जानकारी गराए ।

थकाली सेवा समिति गण्डकीका निवर्तमान अध्यक्ष ई. रुजिन्द्र तुलाचनले सिद्धि गौचनलाई एक असल नारी र थकाली समुदायकी उज्ज्वल ताराका रूपमा चिनाए ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले सिद्धि गौचनको स्मरणमा विश्वमोहन गौचन परिवारको समर्पण भाव सुनौला अक्षरले लेखिएको धारणा राखे ।
लुम्ले कविता गाउँ समितिका अध्यक्ष भरत देवकोटाले विश्वमोचन गौचन परिवारमात्र नभएर आफन्त सम्पूर्ण बन्धुको योगदानलाई जीवन्त राख्न क्रियाशील रहने समाजसेवी भावनाका व्यक्तित्व रहेको बताए ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले सिद्धि गौचनको आतिथ्य सत्कार र पाक कला जीवनपर्यन्त स्मरणमा रहेको बताए ।
सिद्धि शोक काव्यका लेखक उमाकान्त पोखरेलले आफ्नो मातृवियोगको पीडा स्मरण गरेर काव्य लेखेको धारणा राख्दै सिद्धि गौचनको जीवनकालमा उहाँको परिवारसँगका अनुभूति सुनाए ।
कार्यक्रममा सिर्जना साहित्य सदन घाचोकका संस्थापक टेकनाथ पीडित, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, लाल कार्की अञ्जान, असफल गौतमलगायतले आफ्ना धारणा र सिर्जनाका माध्यमबाट गौचनको स्मरण गरे ।
सभाध्यक्ष कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषको आर्जित व्याजबाट डा. वसन्त ताम्रकार, रामकली खड्का र हिमाली सांस्कृतिक परिवार सम्मानित भइसकेको जानकारी दिए ।
सोही समारोहबीच पद्मराज ढकालले लुम्ले कविता पार्क निर्माणका लागि ११ हजार रूपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरे ।

