FRIDAY MAR 13, 2026

भेषजराज साहित्य प्रतिष्ठानको स्रष्टा सम्मान

भेषजराज साहित्य प्रतिष्ठानका नायक भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा स्रष्टा सम्मान तथा नियमित रचनावाचनको ९० औँ शृङ्खला सम्पन्न भएको छ ।

वालिङ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा स्रष्टाद्वय अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान र पुरस्कृत गरेको छ ।

प्राज्ञ तेजप्रसाद काफ्लेको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि काफ्लेले भेषजराज शर्मा वनारसमा विद्यार्थी जीवनबाट साहित्यिक क्षेत्रमा लागेको बताए ।

उनले शर्मा निर्भीक र स्वाभिमानी कुशल स्रष्टा रहेको बताउँदै शर्माको साहित्यिक, शैक्षिक र राजनीतिक व्यक्तित्वका बारेमा प्रकाश पारे ।

प्रा. डा. जगन्नाथ रेग्मीले भेषजराजको शर्माको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पर्दै सहज प्रतिभा सम्पन्न प्रसाद गुणयुक्त रचना सृर्जना गर्ने सशक्त स्रष्ट रहेको जानकारी गराउँदै देशभक्त, मानवतावादी, निम्न वर्गको पक्षमा साहित्य रचना गर्ने बहुमुखी व्यक्तित्वका रूपमा शर्मालाई चिनाए ।

पुतली बजार प्रज्ञा-प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले स्याङ्जाली साहित्य र भेषजराज शर्मासँगका सन्दर्भहरू प्रस्तुत गर्दै लोकसाहित्यका बारेमा आफ्ना धारणा राखे ।  सह-प्राध्यापक अम्बिकाप्रसाद भट्टराईले साहित्यबारे चर्चा गर्दै आफ्नो छन्दोबद्ध कविता वाचन गरे ।

कार्यक्रममा पूर्व प्रजिअ मोहनप्रसाद अर्याल, एनआर्यन अमेरिकाका सदस्य उपन्यासकार एकनारायण सुवेदी, गल्याङ प्रज्ञा-प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रे, वालिन नगरपालिका वडा नं. १२ का अध्यक्ष विश्वजङ्ग गुरुङ, समाजसेवी ढालबहादुर केसी, कविहरू पारीश्वर न्यौपाने, शम्भु अर्याल, लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, इन्जिनियर पारस रेग्मी, बोधराज न्यौपाने, डोलराज सुवेदी, कमल बगाले, पुरस्कृत स्रष्टा अनन्त अर्याल, अग्निकुमार रेग्मी पल्लव, कवयित्री दमकुमारी बगाले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, सुभद्रा रेग्मीलगायतले भेषजराज शर्माका र आफ्ना रचनावाचन गरेका थिए । सोही समारोहबीच प्रतिष्ठानले मासिक नियमित रचनावाचनको ९० औँ शृङ्खला सम्पन्न गरेको छ ।

प्रतिष्ठनका सचिव श्यामप्रसाद ढुङ्गानाले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य दीपक लम्सालले र धन्यवाद ज्ञापन सहसचिव कमल बगालेले गरेका थिए ।

Facebook Comments