पोखरा पर्यटन परिषद्को २५औं वार्षिक साधारणसभा सम्पन्न
पोखरा, ३० असोज। पोखरामा क्रियाशील पर्यटनसम्बद्ध संघ–संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५औं वार्षिक साधारणसभा शुक्रबार एक विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन सत्रमा उहाँले परिषद् स्थापनाकालीन पृष्ठभूमि र उद्देश्यहरूबारे प्रकाश पार्दै पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित नराखी यसको दायरा फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
परिषद्का पूर्वअध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद् अन्तर्गत रहेका १४ वटा संस्थाबीच एकता र सहकार्य जरुरी रहेको बताउँदै फराकिलो सोचसहित अघि बढेमा पर्यटन क्षेत्रमा थप उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो।
परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको पहिलो व्यवसायिक चार्टर्ड उडान र नियमित अन्तर्राष्ट्रिय उडानको पहल परिषद्का प्रमुख उपलब्धि रहेको बताउँदै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका जानकारी दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयकी महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
साधारणसभाको बन्दसत्रमा महासचिव जीवनराज सापकोटा र कोषाध्यक्ष बाबुराम पाण्डेले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। बन्दसत्र अध्यक्ष तारानाथ पहारीको अध्यक्षता र सचिव नारायण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।
