नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की

२८ भदौ, पोखरा । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
शुक्रबार राति राष्ट्रपति शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्की नेपालको ३९ औंँ प्रधानमन्त्री नियुक्त भएसँगै नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रेकर्ड राखेकी छन् ।
न्यायपालिका र कार्यपालिकाको सर्वोच्च पदमा पुग्ने कार्की पहिलो महिला हुन् । कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्ने गरी नेपालको संविधानको धारा ६१ बमोजिम शुक्रबार साँझ नियुक्ति गरिएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपतिसहित प्रधानन्यायाधीश, मुख्यसचिव, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो । कार्कीले आइतवार मन्त्री मण्डल विस्तार गर्ने जनाइएको छ।
को हुन् सुशीला कार्की ?
२००८ जेठ २५ मा मोरङको शंखरपुरमा मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी कार्की विराटनगर निवासी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये जेठो सन्तान हुन् ।
विराटनगर-२, शंकरपुर तीनपैनीको जनता माविबाट स्कुल शिक्षा पूरा गरेकी कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बिए र बनारसको हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।
कार्की २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेपछि कार्कीले २०३५ बाट विराटनगरमा महिला कानून व्यवसायीका रूपमा थालेकी थिइन् । जुन समय महिला कानून व्यवसायी थिएनन् ।
अविचलित वकालतमा रहेकी कार्कीले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका खेलेकी थिइन् । २०४६ सालको जनआन्दोलनतामा कार्की पञ्चायतविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी थिइन् ।
तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालतको अनुभव संगालेकी कार्की वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी थिइन् । उनी ०६५ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश, ०६७ मा न्यायाधीश र त्यसको सात वर्षपछि १ वैशाख ०७३ मा कामु प्रधानन्यायाधीश बन्दै त्यसको तीन महिनामा प्रधानन्यायाधीश बनेकी थिइन् ।
उनले १५ महिना सर्वाेच्च अदालतको नेतृत्व गरिन् । उनले सर्वाेच्चको नेतृत्व गर्दै गर्दा भ्रष्ट मानसिकताका दलको अकर्मणयताका कारण महाभियोगको सामना परेको थियो । यद्यपि, सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् नै फेरि कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् । उनका श्रीमान् दुर्गा सुवेदीकी नागरिक समाजका अगुवाका रूपमा चिनिन्छन् ।
कार्कीको आत्मकथाको पुस्तक न्याय र कारा उपन्याससमेत प्रकाशित छ । जसको अध्ययनबाट उनी सानैदेखि हठी र कसैसँगै नडराउने स्वभावकी नेतृ रहेको पुष्टी हुन्छ ।