चौथो गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिताको फाइनल भदौ २९ गते

११ भाद्र, पोखरा । ‘संस्कृति बचाऔं, परम्परा जोगाऔं’ अभियानका साथ सञ्चालन हुँदै आएको गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिता चौथो संस्करणमा पुगेको छ ।
उक्त प्रतियोगिताको फाइनल यही भदौ २९ हुने दिनको १ बजे पोखरा सभागृहमा हुने बीटुडी स्कुल तथा ड्रेस सेन्टरका प्रबन्ध निर्देशक अमन तामाङ बताउँछन् ।
प्रतियोगिताबारे आफ्नो धारणा राख्दै तामाङ थप्छन्, ‘नेपाली ढाका टोपी हाम्रो पहिचान, गौरव र संस्कृति भएकाले नै गोल्डेन ढाका टोपी सांस्कृतिक समूह नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।’
तीन संस्करणको ऐतिहासिक सफलतापछिको यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो सांस्कृतिक नृत्य महोत्सव रहने पनि आयोजक संस्थाको दावी रहेको छ ।
बीटुडी स्कुलले एउटा मञ्च, एउटै प्रतिस्पर्धा र एउटै उत्सवका रूपमा प्रतियोगिता अगाडि बढाएर नेपाली ढाका टोपीको संरक्षणमा पुर्याएको योगदान अतुलनीय रहेको अनुशीलन कला पाठशालाका संस्थापक गोरे गुरुङ बताउँछन् ।
प्रतियोगिताका विजेताले गोल्डेन ढाका टोपीसहितका नगद एक लाख हात पार्न सफल हुने छन् । यसैगरी प्रतियोगितामा द्वितीय हुने समूहले ५० हजार नगदसहित ट्रफी, तृतीय हुने समूहले ३० हजारसहित ट्रफी, सान्त्वना हुने समूहले नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट कोरियोग्राफरले १० हजार नगदसहित गोल्डेन ढाकाटोपी ट्रफी हात पार्न सफल हुने आयोजक संस्थाले जनाएको छ ।
साउन ३१ गतेदेखि शुरु भएको अडिसन राउण्डबाट प्रतियोगितामा सहभागी नेपालभरिका विद्यालय समूह र नृत्य समूहमध्येबाट १५ टिम फाइनलिस्टहरूमा पर्न सफल भएका छन् ।
जसमा कास्कीबाट बगिना कला पाठशाला रानीपौवा, कास्की मोर्डनाइज्ड एकेडेमी चाउथे, समता शिक्षा निकेतन प्रस्याङ, नेपाल आदर्श आवासीय विद्यालय लेखनाथ, पूर्णिमा सांस्कृतिक कला केन्द्र महेन्द्रपुल, शान्ति निकुञ्ज माध्यमिक विद्यालय हिमाली टोल, न्यू मोडल सेकन्डरी स्कुल नागढुंगा, स्नो भ्यू इङ्ग्लिस बोर्डिङ स्कुल हेमजा, न्यू ग्यालेक्सी सेकन्डरी स्कुल समूह ए, र समूह बी प्रतिस्पर्धामा रहेका छन् ।
यसैगरी प्रतियोगितामा कास्की बाहिरका जिल्लाबाट द साइनिङ डान्स स्टुडियो बेनी म्याग्दी, श्री सिद्धि विनायक मा.वि. भरतपुर चितवन, मनास्लु वल्र्ड कलेज चाबहिल काठमाडौं, नृत्य कलाकार संघ झापा, भुटानी शरणार्थी नृत्य समूह मोरङ प्रतिस्पर्धामा रहेका छन् ।
स्मरण रहोस्, विगत २५ वर्षदेखि नेपाली कला, संस्कार र संस्कृतिको संरक्षणमा क्रियाशील रहँदै आएको बीटुडी स्कुलले समय-समयमा विविध सांस्कृतिक प्रतियोगिता सञ्चालन गरी नेपाली मौलिक परम्परालाई संरक्षण गर्दै आइरहेको छ ।