स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कास्कीमा रूपा गाउँपालिका पहिलो

१० भदौ, पोखरा । कास्कीका पाँच पालिकामध्ये रूपा गाउँपालिका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बन्न सफल भएको छ ।
पालिकाले १०० नम्बरमा ८७ अंक प्राप्त गर्दै कास्कीमै अब्बल भएको हो । यसअघि पनि उत्कृष्ट सूचीमा पर्दै आएको थियो ।
विकास र सेवा प्रवाहलाई छरितो तथा पारदर्शी बनाएर गतिविधि सम्पादन गरेकाले कास्कीमै उत्कृष्ट अंक ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष नवराज ओझा बताउँछन् । बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाह, योजना कार्यान्वयन र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्याङ्कनमा पालिका अगाडि देखिएको अध्यक्षको दावी रहेको छ ।
८६.०५ अंक ल्याउँदै अन्नपूर्ण गाउँपालिका दोस्रो, ८३.५० अंक ल्याउँदै पोखरा महानगरपालिका तेस्रो, ८३ अंकका साथ माछापुच्छ्रे गाउँपालिका चौथो र ८१ अंकका साथ मादी गाउँपालिका पाँचौ स्थानमा छन् ।
२५ शैय्याको अस्पताल चलाएको पालिकाले एम्बुलेन्स सेवासहित नागरिकलाई स्वास्थ्य बीमासँग जोडेको रूपाले कृर्षितर्फ एक घर, एक महुरी घार, सिप्लीगान र टिमुर खेतीमा पनि जोड दिँदै आएको छ । पालिकाले बाँझो खेतमा बाँदरले असर नगर्ने नगदेबाली अदुवा, लसुन, बेसार, टिमुर लगाउन र युवालाई खाली जग्गामा मसलाजन्य उत्पादनमा लाग्न प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष ओझा बताउँछन् ।