आर्वामा आयोजित तीजगीत प्रतियोगितामा अनु क्षत्रीको समूहलाई उपाधि

१० भदौ, पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लबले आयोजना गरेको १८ औं संस्करणको खुला तीज गीत प्रतियोगितामा अनु क्षत्रीको समूहले प्रथम स्थान हासिल गरेको छ ।
पोखरा १३ आर्वामा आयोजित प्रतियोगितामा संगीता बरालको समूह द्वितीय, पूर्णिमा बराल र सीता बरालको समूहले तृतीय स्थान हासिल गरेको क्लबका सचिव सन्दीप बरालले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट भेषभूषा पूर्णिमा बरालको समूह र उत्कृष्ट नृत्य अनु क्षत्रीको समूहले प्राप्त गर्यो।
विजयी समुहलाई क्लबका अध्यक्ष विजय सुनार, वडा सदस्य रजनी परियार ,संस्थापक उपाध्यक्ष धने सुनार, सदस्य दीपेन्द्र सुनार, लोकदोहोरी गायक अमर धिताल, कृष्णप्रसाद गौतमलगायतले नगदसहित प्रमाणपत्र प्रदान गरे।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष किरण बरालले तीज पर्व नेपाली नारीको मौलिक तथा सांस्कृतिक पर्व भएकाले यसको मौलिक पक्षको जगेर्ना गर्नुपर्ने बताउँदै संस्कृति संरक्षणमा स्थानीय सरकार सदा सहयोगी बन्न तयार रहेको स्पष्ट पारे ।
क्लबका अध्यक्ष विजय सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रजनी परियार, समाजसेवी शिवप्रसाद बराल, कमल सुनार, आशीर्वाद क्लब अफ नेपालका उपाध्यक्ष विक्रम बरालले यस्ता कार्यक्रमले कला र संस्कृतिको विकासमा योगदान पुर्याउने बताउँदै, क्लबलाई सक्रिय बनाएर समाज विकासमा लाग्न सुझाव दिए।
सचिव सन्दीप बरालले सञ्चालन गरेको कार्यक्रममा लोकदोहोरी गायक अमर धिताल, कृष्णप्रसाद गौतमले सांगीतिक प्रस्तुती राखेका थिए ।